Sajhamanch Archive

संजिवनी साकोसः सञ्चालक समिति पदाधिकारी र लेखा समिति निर्विरोध, सदस्यमा १२ जनाको उम्मेदवारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा समितिमा नयाँ नेतृत्व चयनका लागि आज भएको मनोनयन पत्र दर्ता गर्ने अवधिमा सदस्य पदमा बाहेक अन्यमा आवश्यक संख्यामा मात्र नाम दर्ता भएको छ ।

संस्थाको विनियम र सहकारी ऐन अनुसार ३३ प्रतिशत महिला अनिवार्य हुने गरी ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि मनोनयन दर्ता भएको हो । सञ्चालक समिति सदस्य पदमा ५ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत डिल्ली दाहालले जानकारी दिएका छन् ।

बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखाका अधिकृत दाहाल संयोजक रहेको निर्वाचन समितिले सहकारीको नेतृत्व चयनको निर्वाचन प्रक्रिया सञ्चालन गरिरहेको छ ।

निर्वाचन अधिकृत दाहालका अनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा यामकुमार चुडालको मात्र मनोनयन दर्ता भएको छ । यस्तै, उपाध्यक्षमा दिनेशकुमार सुवेदी, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शिवबहादुर कटुवालको मात्र मनोनयन पत्र दर्ता भएको छ । आधिकारिक घोषणा नभए पनि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थाको ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिमा पनि आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएको निर्वाचन अधिकृत दाहालले जानकारी दिए । उनका अनुसार लेखा सुपरीवेक्षण समितिको संयोजकमा कमला शिवाकोटी तथा सदस्यहरुमा मिलन कोइराला र छत्रपति मैनालीले मनोनयन गरेका छन् । सञ्चालक समितिको पदाधिकारीजस्तै आधिकारिक घोषणा नभए पनि उनीहरु पनि निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थाको सञ्चालक समिति सदस्यहरुमा अनिता गौतम, सितादेवी कार्की, तारा कार्की, राजकुमार कार्की, खेमराज ढकाल, शिवबहादुर दाहाल, नरेन्द्रप्रसाद गुरागाईं, लक्ष्मी खतिवडा, उषा बस्नेत, मोहनप्रसाद भट्टराई, चक्रप्रसाद खरेल र युवराज चिमरियाको मनोनयन दर्ता भएको छ ।

उल्लेखित उम्मेदवारहरु माथि दावी विरोधको समय आजै ४ः३० सम्म रहेकोले सो पछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत दाहालले साझामञ्चलाई बताए । सञ्चालक समितिका पदाधिकारीहरु र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत भए पनि सदस्यहरु ५ जनाको कोटामा १२ जनाको मनोनयन परेकोले सहमतिका लागि अवसर दिँदै भोलि बिहीबार अपरान्ह ३ बजेसम्म मनोनयको फिर्ता लिने समय रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *