Sajhamanch Archive

प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय दुई दिने अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठवटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु सहभागी थिए । सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड र डेंगु रोगका बारेमा प्रदेश र जिल्लाको वर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशभरिमा हाल ३४७ जना डेंगु रोगका संक्रमित भएको बताए । जसमध्ये ११२ जना तेह्रथुम जिल्ला र २७ जना झापाका रहेको उनले तथ्याङ्क सुनाए ।

कार्यालयका क्षयरोगका फोकल पर्सन तुलसीप्रसाद गुरागाईले प्रदेशमा क्षयरोगको समस्या र समाधानका उपायका बारेमा जानकारी दिए । उनले देशभरमा प्रतिवर्ष ७९ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेको बताए । गत आर्थिक वर्षमा मात्र १६ हजारको मृत्यु भएको गुरागाईले बताए ।

मुलुकमा प्रत्येक दिन १९१ जना नयाँ क्षयरोगका बिरामी थपिने र ४४ जनाको मृत्यु हुने गरेको तथ्याङ्क गुरागाईले सुनाए । सन् २०५० सम्ममा क्षयरोगमुक्त देश बनाउने उद्देश्य अनुरुप सरकारले काम गरिरहेको उनको भनाई छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा ४ हजार ५०० क्षयरोगका नयाँ बिरामी पत्ता लागेकोमा झापामा मात्र १ हजार १८२ जना रोगी पत्ता लागेको कोइरालाको भनाई छ ।

सो कार्यक्रममा गत साउन महिनामा फेला परेको मलेरियाका दुई जना बिरामी मध्ये एक झापामै रहेकोे डा. नितेश मिश्रले बताए । स्थानीय तहका प्रमुख उपप्रमुखले यी रोगका बारेमा आफूहरु गम्भीर भएर काम गरिरहेको दावी गरे ।

सेद द चिल्ड्रन प्रदेश १ का वरिष्ठ कार्यक्रम संयोजक कुमार ढकालले एचआइभीका बारेमा जानकारी दिएको थिए । संस्थाका डिना कार्कीले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्ने कामका बारेमा बताएकी थिइन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *