झापाका वडाध्यक्षहरुलाई कानुनी प्रावधान सम्बन्धी प्रशिक्षण
Published:
by .झापा । प्रदेश १ का नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट प्रशिक्षण गराउने कार्यलाई निरन्तरता दिएको छ ।
केन्द्रले १४ जिल्लाका पालिका प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको केही समयपछि आज झापाका वडाध्यक्षहरुका लागि तालिम सञ्चालन सुरु गरेको छ ।
केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरुलाई यसअघि नै सो तालिम प्रदान गरेको बताए । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरु सहभागी छन् ।
उनले वडाध्यक्षहरुको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने कामहरुमा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।
जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुन लगायत १२ वटा विषयवस्तुमा प्रशिक्षण प्रदान गरिने उनको भनाई छ ।
जिल्ला समन्वय समिति झापाको संयोजनमा आयोजित कार्यक्रममा १३१ वडाध्यक्षहरुलाई तीन वटा सभाहलमा राखेर प्रशिक्षण भइरहेको छ ।
जिसस झापाका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत बृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
तालिमले जिल्लाभरका वडाहरुमा काम गर्ने तौर तरिका र सेवामा एकरुपता ल्याउने विश्वास गर्दै जिसस प्रमुख बरालले अप्ठ्यारो परिस्थितिमा एक अर्कासँग समन्वय गर्न वडाध्यक्षहरुलाई निर्देशन दिए ।
आजबाट सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ । तालिमको सहजीकरण शशी राई, प्रेम राजवंशी, गणेश तिम्सिना र सुमन ढकालले गर्नेछन् ।
केन्द्रले पछिल्लो समय कर्मचारी, जनप्रतिनिधि लगायतलाई लक्षित गरेर विभिन्न तालिमको कार्यक्रमहरु गर्दै आएको जनाएको छ
Comments