Sajhamanch Archive

मरेका माछा अब झापामा बेच्न नपाइने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

झापा । छिमेकी देश भारतबाट आयात हुने मरेका अस्वस्थकर माछाको बिक्री वितरणमा झापा जिल्लाभर पूर्णतया रोक लगाइने भएको छ । कनकाई माई पूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको हालैको भेलाले उक्त निर्णय गरेको हो ।

बजार अनुगमनका क्रममा बिर्तामोड लगायतका शहरी क्षेत्रमा फर्मालिन हालेर नकुहिने बनाइएको तर धेरै दिनसम्म बिक्री नभएका मरेका माछा बिक्री वितरण भइरहेको पाइएकाले आ–आफ्नो पालिकामा रोक लगाउने सर्वसम्मत निणर्य भएको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा कनकाई माईपूर्वका पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुसहित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

सो बैठकले आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्न वस्तु बिक्री वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको अगुवाईमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । आ–आफ्नो पालिकमा खाद्यान्नको गुणस्तर स्वच्छता, अखाद्य वस्तुको मिसावट, नक्कली उत्पादनजस्ता विषयमा सघनरुपमा अनुगमन गर्ने र सर्वसाधारणलाई यस विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै पालिकाहरुले कृषि उत्पादनको प्रेष्टीसाइट्स मापनको लागि पालिकाहरुले आपसी सहकार्यमा विषादी परीक्षणको लागि ल्यावको व्यवस्थापन गरी परीक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने पनि जनाइएको छ । उक्त बैठकका निर्णयहरुलाई सबै स्थानीय तहहरुले कार्यपालिकामा अनुमोदन गरी कार्यान्वयनमा लैजाने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *