शिक्षा सहकारीको शनिश्चरेमा इकाई साधारणसभा सम्पन्न
Published:
by .अर्जुनधारा । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १०औं साधारणसभा अन्तरगत आज शनिश्चरे सेवा केन्द्रबाट इकाईगत साधारणसभा सम्वन्न भएको छ ।
अर्जुनधारास्थित अर्जुनधारा धामको सभाहलमा आज सम्पन्न इकाइगत साधारणसभा मार्फत माइन्युट प्रमाणिकरणका लागि प्रतिनिधि पनि छनोट गरिएको हो । संस्थाका अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख खग्गमाया पराजुली रहेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि पराजुलीले सहकारीले बचत तथा ऋण कारोबार मात्र नगरी उद्देश्य अनुरुपका काम गर्नुपर्नेमा जोड दिइन् । उनले सहकारीहरुले नाफासँगै सामाजिक कार्यमा समेत विशेष कदम चाल्नुपर्ने सुझाब दिइन् ।
“ऋण लिने सोचले मात्र सहकारीमा सदस्य बन्ने गरेको पाइएको छ’, कार्यक्रममा सहभागी सेयर सदस्यहरुलाई ऋण लिएर आय आर्जनमा लाग्न आग्रह गर्दै उपप्रमुख पराजुलीले भनिन्। “सहकारीले दिएको ऋणलाई आयमूलक क्षेत्रमा लगाउनुपर्छ, ऋणकै कारण उठिबास हुने अवस्था आउन सक्छ ।”
कार्यक्रमका विशेष अतिथि अर्जुनधारा धामका मूल अर्चक अग्नि सिग्देलले सहकारीले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै साधारण सभाको सफलताको शुभकामना दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक युवराज निरौलाले लेखाको प्रतिवेदन, ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका अध्यक्ष न्यौपानेले संस्था आर्थिक रुपमा सबल भएको बताउँदै बाह्य ऋण भन्दा पनि सदस्यको बचतलाई नै परिचालन गरेर सदस्यलाई नै ब्याज दिने नीति लिएको बताए । उनले भने, “बाह्य ऋण लिएरभन्दा पनि सदस्यको बचतलाई हामीले प्राथमिकता दिएका छौं, जसले संस्था मजबुद हुनुका साथै सदस्य बढी लाभान्वित हुनेछन् ।”
संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।
मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६१३ जना सदस्य छन् भने ३६ जना कर्मचारी कार्यरत रहेको संस्थाका व्यवस्थापक दीपेश धौरालीले बताए । संस्थााको भालि बिहीबार सेवा केन्द्र धुलाबारीको अतिथि सदन धुलाबारीमा इकाइगत साधारणसभा हुँदैछ ।
Comments