लखनपुर साना किसान सहकारीको नवौं वार्षिक साधारणसभा सम्पन्न
Published:
by .कमल । कमल गाउँपालिका वडा नं. ६ लखनपुरमा मुख्य कार्यालय रहेको लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
२०७० सालमा स्थापना भएको सरकारीले आर्थिक कारोबारका साथै सदस्यहरुलाई कृषि सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सदस्यलाई कृषितर्फ आकर्षण गर्नका लागि संस्थाले बेसार खेती गर्नुका साथै धान खेतीसमेत गर्ने गरेको जनाइएको छ । त्यस्तै सदस्यको पशुधन सुरक्षणका लागि पशु बीमा, चिया तथा मह प्रवर्धन कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन भइरहेको साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको उद्घाटन गर्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले पछिल्लो समय केही सहकारीका सञ्चालकहरुले सदस्यले जम्मा गरेको रकम दुरुपयोग गरेका घटनाहरु सुन्नु परिरहेकोले यस्ता घटना हुन नदिन सहकारीका सञ्चालक र सदस्यहरु समेत जिम्मेवार हुनुपर्ने आवश्यकता दर्शाइन् ।
सहकारीका सदस्यले चासो दिएमात्र सहकारी राम्रो हुने भएकोले साधारण सभामा सदस्यले ध्यानपूर्वक सुरेर छलफलमा भाग दिनुपर्ने उनले सुझाइन् ।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, समूह, तथा अन्तर समूहका साथै एसईई र कक्षा १२ मा उत्कृष्ट अंङ्क ल्याएर पास हुने विद्यार्थी गरी जम्मा तीन दर्जनभन्दा बढीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष तिलरुपा बाँस्तोलाको अध्यक्षतामा सम्पन्न साधारणसभामा वडा नम्वर ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, सल्लाहकार संयोजक बेनु सिवाकोटी, कृषि सहकारी जिल्ला संघका कोषाध्यक्ष भुपराज लुईटेल लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका व्यवस्थापक कुमार पराजुलीले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा उपस्थितहरुलाई उपाध्यक्ष शोभादेवी उप्रेतीले शाब्दिक स्वागत गरेका थिए ।
Comments