Sajhamanch Archive

स्वास्थ्य उपचार र दैवी विपत्तीमा पनि सदस्यलाई एनएमसीको साथ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले असाध्य रोगबाट पिडीत संस्थाका १०२ जना सेयर सदस्यहरुलाई गत आर्थिक वर्षमा २३ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ ।

एनएमसी वित्तीय व्यवसाय प्रमुख मनिष कोइरालाका अनुसार एनएमसीले दीर्घरोग लागेका आफ्ना सेयर सदस्यहरुलाई उपचार सहयोगस्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था छ ।

‘दीर्घरोगहरु क्यान्सर, ब्रेन ट्युमर, मष्तिष्क पक्षघात, मिर्गौला उपचार वा प्रत्यारोपण, मुटुको अपरेसनजस्ता जटिल प्रकृतिका स्वास्थ्य समस्यामा उपचार राहत वापत २५ हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेको छ, जसअन्तर्गत गत आर्थिक वर्ष २०७८/०७९ मा १०२ जना सदस्यहरुलाई २३ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ’ एनएमसी वित्तीय व्यवसाय प्रमुख कोइराला बताउँछन् ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को साउन र भदौ महिनामा मात्र पनि ३६ जना सदस्यहरुलाई दीर्घरोग उपचार खर्च अन्तरगत कूल ९ लाख सहयोग गरिएको छ ।

एनएमसीले सदस्यहरुलाई दीर्घरोग उपचार खर्च सुविधाका अतिरिक्त दैवी विपत्तीमा पनि आफ्ना सदस्यहरुलाई २५ हजार रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको व्यवसाय प्रमुख कोइराला बताउँछन् ।

‘आगलागी, भू–कम्प, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप र हुलदङ्गा, चोरी डकैतीजस्ता घटनाबाट सदस्यको धनजनको क्षति हुन गएमा सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरिएको छ’ एनएमसी वित्तीय व्यवसाय प्रमुख कोइराला भन्छन्, ‘चालु आर्थिक वर्ष २०७९/०८० को साउन र भदौ महिनामा मात्र संस्थाले सो शीर्षकमा ६ जना सदस्यहरुलाई ६० हजार रुपैयाँ सहयोग गरेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *