Sajhamanch Archive

झापामा हालसम्म ४४ जनामा डेंगु संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । डेंगु संक्रमण बढ्न थालेपछि झापामा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि स्थानीय तहहरु यसको नियन्त्रणमा लागेका हुन् ।

डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि कमल गाउँपालिकाले पनि सरोकारवालासँग आज छलफल र अन्तरक्रिया गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, संघ–संस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, पालिकाका स्वास्थ्यकर्मी लगायतको सहभागितामा डेंगु संक्रमण रोकथामका लागि अन्तरक्रिया गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

देशभर डेंगुको संक्रमण बढिरहेको अवस्थामा कमल गाउँपालिकामा समेत डेंगुको बिरामी देखिन थालेकाले यसलाई रोकथाम गर्नका लागि सरसफाईमा विशेष ध्यान दिन, जनचेतनामुलक कार्यक्रम गर्दै नागरिकलाई डेंगु संक्रमणबाट जोगाउन गाउँपालिका स्वास्थ्य शाखाले पहल गरिरहेको शाखा प्रमुख ईन्द्र अर्यालले बताएका छन् ।

डेंगु भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने जनाइएको छ । झापामा अहिलेसम्म ४४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विष्णुलाल श्रेष्ठले बताएका छन् । यो लामखुट्टेले घाम झुल्किनु र अस्ताउनुभन्दा २ घण्टा अगाडि टोक्ने भएकोले सावधानी अपनाउनु पर्ने श्रेष्ठको सुझाव छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *