संजिवनी साकोसको नयाँ नेतृत्वले लियो सपथ (तस्वीरकथा)
Published:
by .बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा विविध रचनात्मक निर्णयहरु गर्दे शनिबार सम्पन्न गरिएको छ । साधारणसभाको बन्दसत्रबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वको घोषणा गरी निर्वाचिन समितिले सपथ ग्रहण तथा प्रमाणपत्र पनि प्रदान गरेको छ ।
सहकारी ऐन तथा संस्थाको विनियमअनुसार गत भदौ ३० गतेसम्म जारी निर्वाचन कार्यक्रमबाट सञ्चालन समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको हो ।
निर्वाचन समितिका संयोजक डिल्ली दाहालले नवनिर्वाचित समितिको नाम घोषणा गरी सपथग्रहण गराए पछि उनीहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको हो ।
सर्वसम्मत चयन भएको सञ्चालक समितिको अध्यक्षमा यामकुमार चुडालले पुनः जिम्मेवारी पाएका छन् । उनी चौथो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा दिनेशकुमार सुबेदी, सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शिवकुमार कटुवाल चयन भएका छन् ।
यस्तै, सञ्चालक समितिको सदस्यमा शिवबहादुर दाहाल, मोहनप्रसाद भट्टराई, सीतादेवी कार्की, अनिता गौतम र तारा कार्की चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कमला शिवाकोटी पुनः दोहोरिएकी छन् भने सदस्यहरुमा धनपति मैनाली र मिलन कोइराला चयन भएका छन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाइको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष यामकुमार चुडालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा संजिवनीमा २ करोड ९४ लाख २२ हजार ५०० रुपैयाँ शेयर पुँजी, बचत २३ करोड १६ लाख २४ हजार ३१२ रुपैयाँ १० पैसा, ऋण लगानी २९ करोड ५६ लाख ३६ हजार ७६० रुपैयाँ २७ पैसा, कोष २ करोड ५८ लाख ३७ हजार ६९७ रुपैयाँ ७० पैसा, सेयर लगानी १ करोड १३ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ ।
सोही कार्यक्रमका बीच संस्थाका शेयर सदस्य मिर्गौला रोगी जेलेल मियालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले शाब्दिक स्वागत गरेको साधारणसभामा प्रमुख अतिथि प्रसाई, झापा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक चूडामणि ओझा, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बास्तोलाले गरेका थिए ।
सो कार्यक्रममा संस्थाको सामाजिक सेवा तथा सदस्यहरुको प्रगतिसमेतलाई दृष्टिगत गरी साझामञ्च मिडिया प्रालिले उत्पादन गरेको १७ मिनेट लामो वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
Comments