Sajhamanch Archive

सिम्रिक साकोसः बर्सेनी फाइनान्सियल ग्रोथमा, सामाजिक योगदानमा पनि अग्रणी

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by .

भद्रपुर । झापाको अग्रणी सहकारी संस्थाहरु मध्येको एक बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारणसभाको इकाइगत सभा मंगलबारदेखि शुरु गरेको छ । संस्थाले जिल्ला सदरमुकाम भद्रपुरबाट १२औं साधारणसभा शुरु गरेको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले सञ्चालन गरेको साधारणसभा कार्यक्रममा शाब्दिक स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले संस्थाको समग्र वित्तीय अवस्थाको बारेमा जानकारी दिएका थिए ।

आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आर्थिक वर्ष २०७८/०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको बस्नेतको भनाइ छ ।

इकाइगत साधारणसभा समारोहमा अध्यक्ष भट्टराईले संस्थाको आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार सिम्रिक साकोसले आव २०७८/०७९ सम्ममा शेयर सदस्य संख्या ५१ हजार ४३६ पुर्याएको छ ।

यस्तै, शेयर पूँजी ३१ करोड ८३ लाख ९८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाले यस वर्ष ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ नाफा गरेको छ ।

सदस्य केन्द्रित सुविधाजनक आर्थिक योजनाहरु सञ्चालन गर्दै आएको संस्थाले आव २०७८/०७९ मा विभिन्न शीर्षकमा संस्थाले सदस्यहरुलाई एक करोड ३३ लाख चार हजार ४६० रुपैयाँ राहत रकम उपलब्ध गराएको संस्थाको जोखिम विभागका अधिकृत विजय बस्नेतले जानकारी दिए ।

झापा, मोरङ र इलामममा गरी ४७ सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा सामाजिक सेवा पुर्याइरहेको संस्थाले क्षेत्रगत रुपमा इकाइस्तरीय साधारणसभा सम्पन्न गर्दै प्रतिनिधि छनोट पछि असोज २९ गते बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणित साधारणसभा सम्पन्न गर्ने कार्यतालिका रहेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *