सिम्रिक साकोसः दोस्रो इकाइगत साधारणसभा धुलाबारीमा सम्पन्न
Published: (Updated: )
by .मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको हिजोदेखि सुरु भएको १२औं वार्षिक साधारणसभा अन्तरगत दोस्रो इकाइगत सभा आज धुलाबारीमा सम्पन्न गरिएको छ ।
इकाइगत साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष नारायणप्रसाद खनालले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष खनालले संस्थाको सेयर वृद्धि र सदस्य संख्या वृद्धिको अनुपात राम्रो लागेको बताउँदै महिलाहरुका लागि स्वरोजगार बनाउने योजनालाई कार्यान्वयनमा लैजान सुझाव दिए ।
सहकारीबाट ठगिएको भनेर वडाबासीहरु न्याय माग्दै वडा कार्यालयमा आउनेक्रम बढेको जिकिर गर्दै वडाध्यक्ष खनालले झोलामा अफिस राखेर चलाएका सहकारीहरु नियन्त्रण गर्नु अभियानको जिम्मेवारी अन्तरगत पर्नुपर्ने सुझाव दिए ।
सिम्रिक सहकारीले जिल्लाका अन्य सहकारीको तुलनामा गुणस्तरीय सेवा प्रवाह गरिरहेको आफूले पाएको बताउँदै वडाध्यक्ष खनालले सहकारीको ध्यान नागरिकको शिक्षा र स्वास्थ्यमा विशेष केन्द्रित भएमा समुदायको लोकप्रिय बन्ने सुझाव दिए ।
इकाइगत साधारणसभाको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष सुवास भट्टराईले संस्थाको आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । २६ वटा विभिन्न बुँदामा समेटिएको अध्यक्षको प्रतिवेदन अनुसार सिम्रिक साकोसले आव २०७८/०७९ सम्ममा शेयर सदस्य संख्या ५१ हजार ४३६ पुर्याएको उल्लेख छ ।
यस्तै, शेयर पूँजी ३१ करोड ८३ लाख ९८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाले यस वर्ष ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ नाफा गरेको जनाइएको छ ।
सदस्य केन्द्रित सुविधाजनक आर्थिक योजनाहरु सञ्चालन गर्दै आएको संस्थाले आव २०७८/०७९ मा विभिन्न शीर्षकमा सदस्यहरुलाई एक करोड ३३ लाख चार हजार ४६० रुपैयाँ राहत रकम उपलब्ध गराएको छ । सो बाहेक पर्व तथा सुत्केरी सुविधा खर्चमा २९ लाख ४२ हजार, चन्दा दानमा ५ लाख ८ हजार ८८८ रुपैयाँ पनि सामाजिक सेवा खर्चमा नै उल्लेख गरिएको प्रतिवेदनमा जनाइएको छ ।
साधारणसभा कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले इकाइगत साधारणसभाको औचित्य, आवश्यकता एवम् प्रक्रियाका बारेमा हलसमक्ष जानकारी गराउँदै तरलताको प्रचुर अभावमा पनि सिम्रिक साकोसको समग्र वित्तीय अवस्था सुरक्षित रहेको प्रष्ट पारे ।
आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आर्थिक वर्ष २०७८/०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको बस्नेतको भनाई छ ।
सो कार्यक्रममा सहकारी विटमा कलम चलाउँदै आएका साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सहकारीका साधारण सभाहरु सदस्य शिक्षा कार्यक्रम लक्षित पनि हुनुपर्ने सुझाव दिए । सहकारी व्यवसायमा उतारचढाव आइरहेको वर्तमान परिवेशमा यसको विश्वसनियता एवम् सक्षमताका लागि समय समयमा यसका वित्तीय विवरणहरु सदस्यमाझ जानकारी गराउन आवश्यक रहेको उनको भनाई थियो ।
झापा, मोरङ र इलामममा गरी ४७ सेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा सामाजिक सेवा पुर्याइरहेको संस्थाले अब छिट्टै पाँचथर जिल्लामा पनि कार्यक्षेत्र विस्तार गर्न लागेको जनाइएको छ । पाँचथर जिल्लाभर कार्यक्षेत्र रहेको एउटा सहकारी संस्थासँग निकट भविष्यमा सिम्रिकको एकीकरण गरिन लागेको हो ।
Comments