रामजानकी साकोसको नाफा २७ लाख १३ हजार ६३५ रुपैयाँ
Published:
by .बिर्तामोड । रामजानकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाको कार्यक्षेत्र भित्रका सेवा केन्द्रहरुमा असोज ११ गते इकाई साधारणसभा सम्पन्न गरी चुनिएर आएका प्रतिनिधिहरुको सहभागितामा आज अन्तिम माइन्युट प्रमाणीकरण सभा गरिएको हो ।
रामजानकी साकोसका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सहसचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा अन्तिम माइन्युट प्रमाणीकरण सभा गरिएको हो ।
उक्त सभामा अध्यक्ष कार्कीले अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा सेयर सदस्य संख्या २९ प्रतिशत, सेयर पुँजी २८ प्रतिशत, निक्षेप ३० प्रतिशत, कर्जा लगानी ३२ प्रतिशत र जगेडा कोष ३७ प्रतिशतले वृद्धि भएको जानकारी गराए ।
गत साधारणसभाबाट बचत तथा ऋण सहकारी संस्थामा रुपान्तरित रामजानकीले यस वर्षको वित्तीय कारोबारबाट २७ लाख १३ हजार ६३५ रुपैयाँ मुनाफा गरेको छ । अध्यक्ष कार्कीले प्रतिवेदन पेश गर्दै संस्थाको विनियम संशोधनदेखि कार्यसञ्चालन नियमावलीहरु चालू वर्षमा पुनःलेखन गरी थप परिमार्जन गर्ने प्रस्ताव गरेका छन् ।
अध्यक्षीय मन्तब्य राख्दै कार्कीले चालू साधारणसभाबाट संस्थाको आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भइसकेकोले सर्वसम्मत हुने गरी आकांक्षीहरुलाई सहमति गर्न आग्रह पनि गरेका छन् ।
माइन्युट प्रमाणीकरण सभाका प्रमुख अतिथि कृष्णप्रसाद मिश्रले सहकारी संस्थाहरुलाई नियमन गर्ने निकाय सहकारी विभागले सहकारी माथि फैलिएका अफवाह अन्त्य गर्नुपर्ने बताए ।
नेपाली बैंकको सम्पूर्ण कर्जा ३० वटाजति ठूला व्यवसायी घरानाले चलाएको विवरण आफूले पाएको जनाउँदै मिश्रले आर्थिक स्रोतमा केही घरानाले ‘डनगिरी’ गर्नुले सर्वसाधारण ग्राहकले आवश्यकता अनुसार कर्जा नपाएको दावी गरे ।
सहकारी संस्थामा सर्वसाधारणको लगानी हुने र बचत तथा कर्जा पनि सर्वसाधारणले पाउने भएकाले नेपाली माटो सुहाउँदो वित्तीय संस्था सहकारी नै भएको उनको ठहर छ ।
संस्थाका सचिव शुक्रराज भण्डारीले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित अतिथि र सदस्यहरुलाई संस्थाका उपाध्यक्ष भिमबहादुर थापाले शाब्दिक स्वागत गरेका थिए ।
सो कार्यक्रममा संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा प्रतिवेदन र कोषाध्यक्ष जीवन सुवेदीले वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
समारोहका अतिथिहरु शिवशक्ति साकोसका अध्यक्ष युवराज ढकाल र सुनकोशी साकोसका अध्यक्ष गंगाराम ओडारीले मन्तब्य राखेका थिए ।
Comments