जुनतारा महिला फुटबल क्लब फाइनलमा
Published:
by .अर्जुनधारा । जुनतारा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
च्यारिटी युथ क्लब (सीवाईसी)ले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगितामा आज (बिहीबार) गाईघाट फुटबल क्लब उदयपुरलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयोजक टिम जुनतारा गोल्डकपको फाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
जुनतारालाई ४–१ गोलको फराकिलो अन्तरले जिताउन अनिता लम्जेलले ह्याट्रिक गरिन् । उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । अनिताले खेलको ५६औं मिनटमा दोस्रो र ६३औं मिनेटमा तेस्रो गोल गरिन् ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेकी अनिता उमन अफ दि म्याच घोषित भइन् । उनले ट्रफीसहित नगद एक हजार हात पारिन् । जुनताराका लागि खेलको ४७औं मिनेटमा लक्ष्मी श्रेष्ठले थप एक गोल गरिन् ।
गाईघाट फुटबल क्लब उदयपुरले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न बाहेक खेलमा अन्य स्कोर गर्न सकेन । दोस्रो हाफमा डी–बक्स एरियामा फल्ट भएपछि उदयपुरले पाएको पेनाल्टीलाई सदिवा भोलनले गोलमा परिणत गरिन् ।
जनता सेवेन फुटबल क्लब इलामलाई क्वाटरफाइनलमा ५–० गोल अन्तरले पराजित गर्दै जुनतारा सेमिफाइनलमा प्रवेश गरेको थियो । उदयपुरले सेमिफाइनल प्रवेशका लागि ताप्लेजुङ जिल्ला फुटबल संघलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि (शुक्रबार) पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङ र धनकुटा महिला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । भोलिको खेलको विजेताले उपाधिका लागि फाइनल खेलमा आयोजक टिम जुनतारासँग १६ गते प्रतिस्पर्धा गर्नेछ ।
Comments