Sajhamanch Archive

गायन र समाज सेवामा रमाइरहेका अर्जुन खरेललाई नजिकबाट चिनौं

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, स्थानीय तह by .

भद्रपुर ।साविक गरामनी ४ कृष्णभिट्टामा वि. सं २०३५ सालमा बलराम तथा विष्णुमाया खरेलका ५औं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल गायकको पहिचान स्थापित व्यक्ति हुन् ।

हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि. सं २०६० बाट तिम्रो आगनम संगै…… गीतको रेकर्डबाट सुरू भएको हो । चमेली…… गीतसम्म आइपुग्दा १७ वटा चर्चित गीत श्रोता माझ ल्याइसकेका खरेलको स्वरले देश विदेससम्म पहिचान पाइसकेको छ ।

पछिल्लो पटक भर्खरै फर्मुला चलचित्रका लागि स्वर दिएका खरेलले भिडियो बन्नु अगाडि नै दुई चुल्ठी गीतको माध्यमबाट निकै चर्चा कमाइ सकेका छन् । सानै उमेरबाट शोखका रूपमा गायन क्षेत्रमा पसेका खरेलले कालान्तरमा पेशा बनाएर गीत संगीतमै जीवन समर्पण गर्न पुगेका छन् ।

वि. सं. २०६५ सालमा हल्दिबारीकी नमिता दंगालसँग वैवाहिक जीवनमा प्रवेश गरेका खरेलका एक छोरा एक छोरी छन् । पारिवारिक दायित्व तथा जिम्मेवारी बहनका लागि समेत गायन कलाको उपयोग गरिरहेका खरेलले झापा, इलाम, मोरङ लगायत प्रदेश १ देखि नेपाल भित्रका अधिकांश सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।

उनको कलाको उच्च मूल्याङ्कन गर्दै वि. सं. २०७४ सालमा उपराष्ट्रपतिको हातबाट राष्ट्रिय प्रतिभा सम्मानसमेत प्राप्त गरेका छन् । त्यसयता खरेलले स्थानीय, क्षेत्रीय तथा प्रदेश स्तरीय सयवटा भन्दा बढी सम्मान तथा नगदसहित पुरस्कार प्राप्त गरिसकेका छन् ।

अर्जुनको गायनसित गाँसिएको अर्को पक्ष समाज सेवा पनि हो । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका आपत विपतमा सहयोगका लागि उनले हरतरहले सहयोग गर्ने गरेका छन् । अनाथलय, बृद्धाश्रमजस्ता संस्थामा हरेक वर्ष केही न केही सहयोग गर्नु उनको नित्य कर्म बनिसकेको छ । खरेलले संगीत, नाट्य तथा समाज सेवा समान गतिमा अगाडि बढाइरहेका छन् ।

पछिल्लो तीन वर्षयता पुष्प खेतीमा समेत सक्रिय खरेलले आफ्नो उर्वर समय माटोमा रमाउने तथा उन्नतिका लागि कृषि कर्ममा युवा सहभागिताका लागि पुष्प व्यवसाय गरिरहेका छन् ।

वि. सं. २०७० सालमा मेरो गीत नामक एकल गीति संग्रह प्रकाशन गरेका खरेलले सन् २०१४ मा प्रवासी नेपाली सिङ्गीत प्रतियोगितामा वेष्ट पर्फमेन्सको उपाधीसमेत जितेका थिए । झापामै बसेर सामाजिक गतिविधि र गायन सेवा प्रवाह गरिरहेका खरेलको असल मान्छे बनेर बाँचुञ्जेल देशका लागि केही न केही गर्ने इच्छा रहेको सुनाउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *