Sajhamanch Archive

शर्मा र सिटौलाको उम्मेदवारीले झापा काँग्रेसमा उत्साह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

झापा । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकर्ताहरू उत्साहित भएका छन् ।

काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका शर्मा र सिटौलाले आफ्नो गृह जिल्ला झापामा आम कार्यकर्ताको भावना र चाहना अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पक्का भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो ।

सकारात्मक विचार प्रवाह गरेर राष्ट्रिय राजनीतिमा उदाएका शर्मा परिवर्तनका लागि युवा शक्ति जोड्ने अभियानमा काँग्रेस राजनीतिको महत्वपूर्ण ठाउँ लिन सफल व्यक्ति हुन् । पार्टी र देश संकटमा परेका बेला महत्वपूर्ण देन दिन सफल सिटौला काँग्रेस राजनीतिमा अनुभवी र पाका नेताको रूपमा परिचित छन् ।

दोस्रो संविधान सभा निर्वाचनदेखि झापा १ बाट चुनावी मैदानमा उत्रेका शर्माले जित निकाल्न प्रयासरत छन् । २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा झापा क्षेत्र नम्बर ३ बाट भिडिरहेका सिटौलाले उपनिर्वाचन सहित ३ वटा निर्वाचनमा जीत निकालेका छन् भने ३ वटा निर्वाचनमा पराजित भए । पछिल्लो पटक अत्याधिक मतसहित दोस्रो संविधान सभा निर्वाचनमा विजयी सिटौलाले संविधान निर्माणका लागि संयोजकको भूमिका कुशलतापूर्वक निर्वाह गरेको इतिहास छ ।

संविधान जारी भएपछिको पहिलो संघीय निर्वाचनमा नेपालको संविधान २०७२ ले स्वीकार गरेको परिवर्तनको महत्वपूर्ण पक्ष संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको कट्टर विरोधी राप्रपाका तत्कालिन महामन्त्री राजेन्द्र लिङ्देन र नेकपा एमालेको निर्वाचन सहकार्यबाट सिटौलालाई पराजित बनाइएको थियो ।

चार दशक लामो जनताको माग रहेको हुलाकी सडक निर्माणको अभियान पूरा गराउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले दशक यता दक्षिणी झापाको समस्याका रूपमा रहेको हात्ती उपद्रो नियन्त्रणका लागि ९ करोडको योजना ल्याएका थिए । गणतन्त्र नेपाल स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेका गिरिजाप्रसाद कोइरालाको स्मृतिमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणको थालनी गराएका सिटौलाले नै गराएका थिए ।

२०७४ को निर्वाचनमा पराजय भोग्नु परेपछि भद्रपुर ८ स्थित मेची रङ्गशाला पश्चिममा निर्माण अलपत्र जीपी भवन लगायत सडक, खानेपानी, सामुदायिक भवन, विभिन्न जातीय संग्राहालय दर्जनौं आयोजना अलपत्र छन् । ती आयोजनाका अधुरा काम पूरा हुने आश राखेका झापा ३ का काँग्रेस कार्यकर्ताले सिटौलाले यस निर्वाचनपछि पनि जनताका पक्षमा भूमिका खेल्न सक्ने भन्दै कार्यकर्तामा उत्साह जागेको देखिन्छ ।

आलोचकहरुले स्थानीय स्तरमा काम गर्न नसक्ने नेता भनेर सिटौला बिरुद्ध प्रचार अभियान चलाइरहेको बेला यस निर्वाचनमा सिटौलाले संसद भएका बखत पहल गरी झापा क्षेत्र नम्बर ३ मा आएका योजना र भएका विकास निर्माणका कामहरुबारे जन स्तरमा पुर्याउन सबै कार्यकर्ता लागि पर्ने दरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खडकबहादुर लिम्बूको भनाई छ ।

उनका अनुसार विद्यालय, ग्रामीण सडक, मठमन्दिर, बाँध, पैनी निर्माणजस्ता जनतामा प्रत्यक्ष सरोकार राख्ने करोडौंका योजनाहरु झापा क्षेत्र नम्बर ३ ले सांसद कृष्णप्रसाद सिटौलाको पहलमा प्रप्त गरेको थियो । देशका राजनीतिक समस्या समाधान गर्न पनि सिटौलाको नेतृत्व आवश्यक रहेको लिम्बूको भनाई छ ।

वि. सं. २०४८ साल यता भएका निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमाले २ पटक, नेपाली काँग्रेस ३ पटक र माओवादी केन्द्र एक पटक तथा राप्रपाबाट एक पटक निर्वाचित भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *