झापा निर्वाचन क्षेत्र नंं. ४ : प्रतिनिधिसभामा २० जना, प्रदेशसभामा १० र १३ जनाको उम्मेदवारी मनोनयन
Published: (Updated: )
by .कनकाई । मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेले निवर्तमान सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूलाई पुनः उम्मेदवार बनाएको छ । एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ । त्यस्तै माओवादीसहित ५ दलीय गठबन्धनले नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेलाई उम्मेदवार बनाएको छ ।
मुख्य प्रतिष्पर्धी दलबाट साँवा र थेवेसहित प्रतिनिधि सभा सदस्यका लागि १ महिलासहित २० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयबाट जारी सूचनामा उल्लेख छ ।
उम्मेदवारी दर्तापछि एमाले नेता सावाँले भने ‘एउटा सांसदको रुपमा मैले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी नै छ । केही अधुरा काम छन्, ती पूरा गर्नुछ । यस क्षेत्रका जनताको पहुँच सिंहदरबारसम्म स्थापित गर्नका लागि मेरो उम्मेदवारी हो ।’
आफू पाँच वर्ष यस क्षेत्रको जनप्रतिनिधि भए पनि १० वर्षदेखि निरन्तर प्रत्यक्ष रुपमा यस क्षेत्रका जनताको सेवामा खटेको सावाँका भनाई छ । ‘२०७० सालमा यस क्षेत्रमा निर्वाचन हारेँ । तर मैले जनताको सेवा गर्न छोडिन । त्यसको मूल्याङ्कन २०७४ सालमा यहाँका मतदाताले गर्नुभयो’ एमाले नेता सावाँले थपे, ‘२०७४ देखि २०७९ को बीचमा झन् धेरै काम गरेको छु । त्यसको मूल्याङ्कन पक्कै मतदाताले गर्नुहनेछ भन्नेमा विश्वस्त छु ।’
सावाँ र थेवेसँग प्रतिष्पर्धा गर्न एजना महिलासहित अरु १७ जनाको उम्मेदवारी परेको छ । भर्खरै राप्रपामा प्रवेश गरेकी खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । सो पदका लागि आकांक्षी बनेकी ओलीलाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएकी छन् ।
त्यस्तै गरी निर्वाचन क्षेत्र नं. ४ (१) मा निवर्तमान प्रदेशसभा सदस्य झलकबहादुर मगरसहित १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट मगरले उम्मेदवारी दर्ता गराएका हुन् । सोही गठबन्धनबाट क्षेत्र नं. ४ (२) मा नेपाली कांग्रेसका एकराज उप्रेतीको उम्मेदवारी परेको छ ।
यसैगरी एमाले नेतृत्वको तालमेलबाट क्षेत्र नं. ४ (१) मा एमालेका राधाकृष्ण खनालको उम्मेदवारी परेको छ भने क्षेत्र नं. ४ (२) मा राप्रपाका भक्ति सिटौलाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि क्षेत्र नं. ४ (१) मा १ महिलासहित १० जनाको मनोनयन परेको छ । क्षेत्र नं. ४ (२) मा १३ जना पुरुषको उम्मेदवारी परेको छ ।
क्षेत्र नं. ४ को संघीय र प्रदेशसभाका लागि ४३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिएका हुन् । निर्वाचन अधिकृत गौतमका अनुसार उम्मेदवारी मनोनयन गर्नेमा सबैभन्दा पाको उमेरका ८१ वर्षीय जयप्रसाद चम्लागाईले प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. ४ (२) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यसरी नै सबैभन्दा कम उमेर भएका २७ वर्षीय किरण श्रेष्ठले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. ४ मा ६१ हजार १०१ महिला, ६२ हजार २२ पुरुष र अन्य १ जना गरी जम्मा १ लाख २३ हजार १२४ जना मतदाता रहेका छन् । सो क्षेत्रमा ६३ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ ।
Comments