Sajhamanch Archive

बिर्तामोड बसपार्क हत्या काण्डमा संलग्नलाई प्रहरीले पक्राउ गरी गर्यो सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर बिर्तामोड नयाँ बसपार्कमा असोज १८ गते एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा नपा वडा नं ११ स्थित ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

दशैंको महानवमीका दिन ताप्लेजुङ सिदिम्बा गाउँपालिका वडा नं ४ सुरुमखिम घर भई अर्जुनधारा ११ बिर्तामोड नयाँ बसपार्क एरियामा बस्ने २५ वर्षीय नविन्द्र गुरुङलाई उनीहरुले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

होटलको पहिलो तलामा होटलका संचालक अधिकारी, होटलका स्टाफ आचार्य, मृतक गुरुङ र अर्का एकजना मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैझगडा भएको थियो ।

त्यसक्रममा, होटल संचालक अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एकजना मानिसले गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाई सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटलबाट अचेत अबस्थाका गुरुङलाई १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतरतर्फ जाने सडक बाटो किनारामा फालिदिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

उनीहरुमाथि कर्तब्य ज्यानको मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।

उनले होटल संचालक अधिकारी सोही होटलबाट असोज २० गते , होटल स्टाफ आचार्य सोही दिन पाँचथरबाट पक्राउ परेको र उनकी श्रीमती राई पनि भागेर पाँचथर गई लुकिछिपी बसेको अबस्थामा असोज २० गते नै पक्राउ परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *