Sajhamanch Archive

नातेदार उम्मेदवार, नौ जोडी त दम्पत्ती नै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् ।

संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू कतिपय नेताका परिवारका दुई तीनजना सदस्यसम्म चुनावी प्रतिस्पर्धा छन् । नेतृत्वले भूमिका र योगदानकै आधारमा एउटै परिवारबाट धेरैजना उम्मेदवार बनेको बताए पनि विश्लेषकहरूले भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मानेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौँ पटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनकी पत्नी डा। आरजु राणा समानुपातिक खस आर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार छिन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी उनी यसअघि पनि सांसद भइसकेकी हुन् ।

गृहमन्त्री बालकृष्ण खाणका पनि दम्पती नै उम्मेदवार छन् । खाण रुपन्देही ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी मञ्जु प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । उनी कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी महासचिव हुन् ।

माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान श्रीमती हुन् । पुन रोल्पाबाट र घर्ती काठमाडौं २ बाट उम्मेदवार छन् । त्यस्तै, एमाले सचिव रघुवीर महासेठ दम्पती धनुषाका दुई क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । महासेठ धनुषा ४ र उनकी पत्नी जुली महतो धनुषा ३ बाट उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी जुली पूर्वमन्त्री पनि हुन् ।

जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् । उनकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभा कै समानुपातिकको बन्दसूचीमा नाम छ । जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका छन् भने पत्नी रञ्जिता श्रेष्ठ कैलाली १ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । श्रेष्ठ पार्टीको अध्यक्षसमेत हुन् ।

माओवादी सचिव तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल र खेलकुद मन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार छन् । पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभा कै समानुपातिक सूचीमा छिन् । बलावती माओवादीको पोलिटब्युरो सदस्य हुन् । गहतराज बाँके १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । उनकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेश सभाको समानुपातिक सूचीमा छ ।

त्यस्तै, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् । भट्टलाई पार्टीले भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको चर्चा छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीनजना उम्मेदवार छन् । प्रचण्ड गोर्खा २ बाट र बुहारी विना मगर कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छिन् । माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मगर अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यस्तै, ज्वाइँ जीवन आचार्य मोरङ ६ ९क० बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दै छन् । उनी माओवादीका केन्द्रीय सदस्य हुन् ।

एमालेबाट महासचिव शंकर पोखरेल दाङ २ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै छन् । उनकी बहिनी मेनका पोखरेल प्रतिनिधिसभा कै समानुपातिक उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्य रहेकी उनको नाम खस आर्य समूहको पहिलो नम्बरमा छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन् । उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभा कै समानुपातिक उम्मेदवार छिन् ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ र पोलिटब्युरो सदस्य वसन्त नेम्वाङ पनि नातामा दाजुभाइ हुन् । वसन्त सुवासका काकाका छोरा हुन् । सुवास इलाम २ बाट र वसन्त पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

कांग्रेसभित्र कोइराला परिवारको बिरासत धान्दै तीनजना उम्मेदवार बनेका छन् । नेता शेखर कोइराला मोरङ ६ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी बिपी कोइरालाका जेठा दाइ केशवका छोरा हुन् । बिपीपुत्र शशांक नवलपुरबाट उम्मेदवार छन् । बिपीका कान्छा भाइ गिरिजापुत्री सुजाता मोरङ २ बाट भिड्दै छिन् । एउटै परिवारका तीन सदस्य दाजु, भाइ र बहिनी हुन् । शेखर दाइ, शशांक भाइ र सुजाता दुवैकी बहिनी हुन् । शेखर अघिल्लोपटक पराजित भएका थिए भने शशांक विजयी । तीनैजना पार्टीको केन्द्रीय सदस्य छन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे सहोदर दाजुभाइ हुन् । सुरेन्द्र चितवन १ बाट र राजेन्द्र धादिङ १ बाट उम्मेदवार छन् । दुवै दाजुभाइ तीसको दशकदेखि राजनीतिमा छन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट र अर्थमन्त्री जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । बस्नेतकी बहिनी ज्ञानु र शर्माकी बहिनी नारायणी प्रतिनिधिसभातर्फकै समानुपातिक तर्फका उम्मेदवार हुन् ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं ७ मा प्रत्यक्षतर्फ उम्मेदवार छिन् । मानुषीकी काकी दुर्गा भट्टराई न्यौपाने प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । माओवादी केन्द्रसँग भट्टराईले नेतृत्व गरेको पार्टी नेपाल समाजवादी पार्टीले हँसिया हथौडा चिह्नबाट उम्मेदवारी दिने सहमति अनुसार दुवैजना उम्मेदवार बनेका छन् ।

दलहरूका नेतृत्वको उम्मेदवार छनोटको शैलीले दक्षिण एसियाली अन्य मुलुकमा जस्तै नेपालमा पनि वंशवादको राजनीति हाबी हुँदै गएको संकेत गरेको छ । यद्यपि, २०४६ को जनआन्दोलन पछि नेपाली राजनीतिमा परिवारवादको प्रभाव देखिन थालेको हो ।

राजनीतिक विश्लेषक कृष्ण खनालले टिकट वितरणमा नेतृत्वले गरेको मनोमानीले राजनीतिक विकृतिलाई प्रश्रय दिएको बताए । ‘लोकतन्त्रमा राजनीति भनेको सार्वजनिक जिम्मेवारी हो । यो कुनै व्यक्तिले निजी कम्पनी चलाएजस्तो होइन । त्यसैले राजनीतिमा लागेको छु भन्दैमा सबैजना लाग्ने र सबैले अवसर लिने सरासर गलत छ’ उनले भनेका छन्, ‘अब हामीले परिवारका एकजना बाहेकले राजनीतिमा अवसर नपाउने संस्कार विकास गरेर यस्तो विकृति रोक्नुपर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *