चार मन्त्रीहरु बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी !
Published:
by .काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएको जनता समाजवादी पार्टीबाट संघीय मन्त्री बनेका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्तको तयारी गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् ।
उनीहरुलाई मन्त्रीबाट बर्खास्त गर्नका लागि प्रधानमन्त्री देउवाले आज दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुसँग भटेर परार्श गर्ने कार्य तालिका छ । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि त्यसलाई जारी राख्छौं भनेपछि कसरी राखिराख्नु’ सत्तारुढ एक नेताले बताएका छन् ।
तर बहालवाला मन्त्रीहरु तत्काल राजीनामा दिने मूडमा नरहेको बताइन्छ । एक मन्त्रीले भने, ‘पार्टीले केही भनेको छैन, अहिले राजीनामा दिने योजना पनि छैन ।’
प्रधानमन्त्रीले मन्त्रीहरु हटाए पनि नयाँ नियुक्त गर्न भने पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरु पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।
२०७८ जेठमा प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् निस्तेज पारिदिएको थियो । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।
Comments