राईसिंह पूल बनाउने प्रतिनिधि सभा सदस्यका उम्मेदवार खरेलको प्रतिबद्धता
Published:
by .मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्निप्रसाद खरेलले विजयी भएर गएपछि आफूले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पूल निर्माण गरेर यहाँका नागरिकलाई विकासे यूगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने सो पूल शिलान्यास भएको दुई दशक भइसकेको भए पनि अहिलेसम्म अधुरै छ । बाहुनडाँगी बजारबाट भृकुटी बजार जोड्ने मूलबाटोमा पर्ने राइसिंह खोलामा पूल नहुँदा बर्खायाममा आवतजावत नै रोकिने गरेको छ ।
विकासप्रेमी र इमान्दार नेताको छवि बनाएका नेकपा एमाले स्थायी कमिटीका सदस्य खरेल आज चुनावी भेलाको क्रममा बाहुनडाँगी पुगेका थिए । स्थानीयबासीले कांग्रेस र माओबादीका सांसदलाई पटकपटक जिताएर पठाउँदा पनि राइसिंह पूल नबनेको भन्दै खरेललाई गुनासो पोखेका थिए ।
स्थानीयका अनुसार कांग्रेसबाट निर्वाचित तत्कालीन सांसद एवम् मन्त्री नरेन्द्रविक्रम नेम्वाङले करिव डेढ दशक पहिले उक्त पूलको पहिलोपटक शिलान्यास गरेका थिए । तर निर्माणको काम चाहिँ हालसम्म अघि बढेको छैन ।
त्यसपछि पालैपालो माओबादीबाट धर्म घिमिरे र एमालेबाट रबिन कोइराला संविधानसभा सदस्य निर्वाचित भए । संविधान लेखन र शान्ति प्रक्रियामा ध्यान दिनु परेकाले त्यसबेला पूल निर्माणको कामले प्राथमिकता नपाएको उनीहरुको भनाई थियो ।
गत निर्वाचनमा नेकपा माओबादीबाट सुरेन्द्रकुमार कार्की सांसद् निर्वाचित भए । उनको पालामा राइसिंह पूलको फेरिे शिलान्यास भएको थियो । दोस्रो शिलान्यास पछि फलामे छड र सिमेन्टका भुइँ पिलर गाडिए पनि काम अगाडि बढ्न नसकेको अवस्था छ ।
यतिबेला उक्त सडक खण्डको वारिपारी कालोपत्रे सडक छ । तर राइसिंह खोलामा मोटरसाइकल तार्न गाह्रो पर्छ । विद्यार्थीलाई स्कूल कलेज आउन जान कठिनाई भइरहेको स्थानीयले एमाले उम्मेदवार समक्ष दुखेसो सुनाएका हुन् ।
कार्यकर्ता र स्थानीयले बाहुनडाँगीको ठूलो आवश्यकताको रुपमा राइसिंह खोलामा पूल निर्माणको माग गरेपछि एमाले नेता खरेल निक्कै भावुक भएका थिए । उनले यति आवश्यक स्थानमा पनि पूल निर्माणको काम हुन नसकेको भन्दै गहिरो चासो व्यक्त गरेका थिए ।
उम्मेदवार परिचय तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता खरेलले आफ्नो मन्तब्यको क्रममा आफूले सबैभन्दा पहिला यही राइसिंह खोलामा पूल बनाएर बाहुनडाँगीबासीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले बाहुनडाँगीमा हात्तीको कारण उत्पन्न समस्याको समाधानको नेतृत्व अब आफूले लिने र वडा नं. २ र ३ जोड्ने निन्दा खोलामा पक्की पूल बनाउनेसमेत बताए ।
पार्टीका वडा अध्यक्ष चन्द्रलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवार, मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख एवम् संविधानसभाका सदस्य रबिन कोइराला, चुनाव प्रचार प्रसार समितिका संयोजक विष्णु प्रसाई र निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीले आफ्ना धारणा व्यक्त गरेका थिए ।
Comments