‘हात्तीको भारी बोकाले बोक्न सक्दैन’ : काँग्रेस नेता सिटौला
Published:
by .भद्रपुर । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गत निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा हात्तीको भारी बोकालाई बोकाउन खोज्दा ५ वर्ष विकास निर्माणविहिन भएको जिकिर गरेका छन् ।
भद्रपुरमा गठबन्धन आबद्ध दल निकट बुद्धिजीविसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै नेता सिटौलाले आफूले दोश्रो संविधान सभा निर्वाचनमा विजय भएपछि सुरू गरेर सम्पन्न भएका दर्जन बढी आयोजना देखाएर मतदाता झुक्याउने राप्रपाका उम्मेदवारले सांसद बनेको ५ वर्षे अवधिमा झापा ३ मा विकासका लागि सिन्को पनि नभाँचेको दाबी गरेका हुन् ।
संविधानको सही कार्यान्वयन गर्न नसक्दा गणतन्त्रले के दिन्छ भन्ने वितृष्णा उत्पन्न भएकाले आगामी संसदबाट हामीले संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल गर्न संविधानका पक्षधर मात्र संसदमा पुग्न आवश्यक भएको उनको भनाई छ ।
नेता सिटौलाले जनताले संवैधानिक व्यवस्थाबाट आफूलाई आर्थिक प्रगति भएको, सामाजिक–साँस्कृतिक उन्नति रहेकोे महसुस गर्न पाउनुपर्छ भने । त्यस्तो अवस्था निर्माण गर्न सत्तापक्ष, प्रतिपक्ष संसदमा जो भए पनि समग्रमा एउटा निश्चित दूरी र समझदारीमा बसेर काम गर्ने संस्कार आवश्यक रहेको जनाए ।
परिवर्तनको दस्तावेज वर्तमान संविधान बिरोधी दलको नेताले प्रगतिशील भनिएको वाम गठबन्धनको मतबाट चुनाव जितेर त्यही दलको आदर्शमाथि प्रहार गर्दा समेत कम्युनिष्ट मतदाता मौन बस्नु विडम्बना भएको भन्दै पूर्व गृहमन्त्री सिटौलाले यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैन तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो ? भनेर आफू एकदमै अचम्ममा परेको बताए ।
Comments