प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा
Published:
by .बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सातवटा एकाइमा गरिएको माइन्युट प्रमाणीकरण गर्दै असोज २९ गते सम्पन्न भएको छ ।
झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले बिर्तामोडमा प्रतिनिधिमुलक साधारण सभा गरी माइन्यूट प्रमाणीकरण गरेको हो । साधारण सभामा १४० जना चुनिएका प्रतिनिधिहरुको सहभागिता थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतारा प्रसाईले गरिदिएकी थिइन् ।
संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत २०७९ असार मसान्त सम्ममा शेयर सदस्य, शेयर सदस्य, निक्षेप जम्मा, कर्जा लगानी तथा जगेडा कोषहरुको वित्तीय आंकडा प्रस्तुत गरेका थिए । जसअनुसार संस्थामा ५१ हजार ४३६ जना शेयर सदस्य, ३१ करोड ८३ लाख ९८ हजार ८०० रुपैयाँ शेयरपुँजी संकलन भएको छ ।
यस्तै संस्थामा १ अर्व १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा निक्षेप जम्मा छ भने २ अर्व १६ करोड २८ लाख ६८ हजार ३५० रुपैयाँ कर्जा लगानी गरिएको छ । संस्थामा जगेडा तथा अन्य कोषहरुमा १६ करोड ४२ लाख ५६२ रुपैयाँ २ पैसा रहेको अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
साधारणसभा कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कुन प्रक्रियाबाट इकाइगत साधारणसभा सम्पन्न गरियो भन्ने अवगत गराए । उनले माइन्युट प्रमाणीकरण सभामा आमन्त्रण गरिएका अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दे सिम्रिक साकोस व्यवस्थित र पारदर्शी ढंगले संचालन भइरहेको जनाए । उनले तरलताको प्रचुर अभावमा पनि सिम्रिक साकोसको समग्र वित्तीय अवस्था सुरक्षित रहेको प्रष्ट पारेका थिए ।
आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आर्थिक वर्ष २०७८÷०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको बस्नेतको भनाई थियो ।
असोज ११ गते भद्रपुरमा इकाइगत साधारणसभा सुरु गरेको संस्थाले १२ गते धुलाबारी, १३ गते बिर्तामोड र १४ गते दूधेमा कार्यक्रम सम्पन्न गरेको थियो । यस्तै असोज २५ गते दमक, २६ गते पथरी र २७ गते इलाममा इकाइगत साधारणसभा गरी १४० जना प्रतिनिधिहरु छानेर २९ गते अन्तिम माइन्युट प्रमाणीकरण सभा गरिएको हो ।
सिम्रिक साकोसले पाँचथर जिल्लाभर कार्यक्षेत्र भएको फिदिमको एउटा संस्थासँग हालैमात्र एकीकरण गरेपछि कार्यक्षेत्र र सदस्य सुविधाका हिसावले दोस्रो भएको बताइएको छ ।
संस्थाले गत आर्थिक वर्षमा ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ नाफा कमाएको प्रतवेदनमा उल्लेख छ । कूल लक्ष्य ३ करोड २५ लाख ८५ रुपैयाँ लिएको संस्थाले १७९ दशमलव ८ प्रतिशत उपलब्धी हासिल गरी लक्ष्य बृद्धि गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा कूल आम्दानीतर्फ ५३ दशमलव ८२ प्रतिशतले बृद्धि भई ४५ करोड ९९ लाख ४६ हजार ६१८ पुगेको थियो । आर्थिक वर्ष २०७८–०७९ मा ५० दशमलव ६५ प्रतिशतले खर्च बढी भई कूल खर्चतर्फ ४० करोड १५ लाख ९ हजार ६५८ पुगेको थियो ।
सो कार्यक्रममा नगरप्रमुख प्रसाई, झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका शाखाप्रमुख विवेक डाँगी, शुभलक्ष्मी साकोस फिदिमका अध्यक्ष टुकबहादुर दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग अधिकृत प्रेम बस्नेत (बिजय)ले गरेका थिए ।
Comments