रानी–विराटनगर–इटहरी सडक खण्डमा जथाभावी बनाइएका डिभाइडर हटाइने
Published:
by .विराटनगर । प्रदेश १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो ।
सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई बन्द गरिने निर्णय भएको मन्त्री केदार कार्कीले सुनाए । यस्तै बैठकले सडकको सरसफाई, बगैँचा निर्माण, निर्माण भइसकेको बगैँचाको संरक्षण सम्बन्धी सम्पूर्ण कार्य तत्काल सुरु गर्ने, महानगरभित्रको ट्राफिक व्यवस्थापनका लागि बजार र मेनरोड क्षेत्रभित्र सिसी क्यामेरा जडान गर्ने, पार्किङ व्यवस्थापनका लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्य गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले ६ लेनको सडक आयोजना अन्तरगतका कार्य गर्नका लागि आयोजनाका इन्जिनियर प्रियङ्का झाको संयोजकत्वमा तीन सदस्यीय कार्य सञ्चालन समिति गठन गरी कामगर्ने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतका अनुसार समितिमा ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की र विराटनगर महानगरपालिका वातावरण इन्जिनियर सुदीक्षा कार्की सदस्य सचिव रहेका छन् । जसको अनुगमन आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले गर्नेछन् ।
मन्त्री कार्कीको संयोजकत्वमा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत सडक तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता थियो ।
Comments