झापा २ मा सम्पादकसँग उम्मेदवारहरु कार्यक्रमः यस्ता छन् एमाले उम्मेदवारका कुरा
Published:
by .बिर्तामोड । संयुक्त निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. २ को आयोजनामा आज सम्पादकसँग उम्मेदवारहरु कार्यक्रम सम्पन्न भएको छ ।
झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे, क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार एकराज कार्की र झापा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार चिन्तन पाठकसँग जिल्लाका आमसञ्चार माध्यमका सम्पादकसँग अन्तरसम्वाद गरिएको हो ।
नेकपा एमाले र राप्रपाले तालमेल गरी झापामा उम्मेदवारी दर्ता गरेपछि दुई दलको संयुक्त निर्वाचन परिचालन समिति बनेको हो । उक्त अन्तरसम्वादमा मन्तब्यको साटो सोझै उम्मेदवारलाई सम्पादकले प्रश्न राख्ने विधि अपनाइएको थियो । उक्त कार्यक्रममा पत्रकारको जिज्ञासाको जवाफ उम्मेदवारहरुले दिएका थिए ।
सो क्रममा झापा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेलाई आधा दर्जनजति राजनीतिक र निर्वाचन केन्द्रित प्रश्नहरु सोधिएको थियो । यस्तै प्रदेशसभा तर्फका उम्मेदवारहरु पाठक र कार्कीले उत्ति धेरै राजनीतिक प्रश्नको सामना गर्नु परेन । तर कार्कीले एक कार्यकाल सांसद भएर पनि कतिपय प्रतिवद्धता पूरा नगरेको भन्ने सोझो प्रश्नको सामना गर्नुपर्यो । यता पाठकले ‘हारको पर्याय चिन्तन’ हुने त होइन भनी पेचिलो प्रश्न सुन्नु पर्यो ।
महाकाली सन्धीको पक्षमा हस्ताक्षर गर्ने एक पात्रको नाताले तपाईंलाई त्यो गल्तीप्रति आत्मग्लानी भइरहेको छैन भनी एक सम्पादकको आक्रमक प्रश्नमाथि उत्तर दिँदै प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले महाकाली सन्धी नेपालको अहितमा नभएको प्रष्ट पारेका थिए । उनले सन्धी गर्दाताका गरिएको सम्झौता पूर्ण कार्यान्वनमा नआएकाले समस्या सिर्जना भएको अर्थ लगाएका थिए ।
“सन्धीले महाकाली नदीलाई व्यवस्थित गरेको छ” उनले भने “बहुवर्षीय पञ्चेश्वर परियोजना कार्यान्वयनमा नआउँदा समस्या भएको हो, अब निर्वाचन पछि एमालेको सरकार बन्छ अनि त्यो व्यवस्थित हुन्छ ।”
एमाले पार्टी अनुशासन र विधिमा चल्ने पार्टी भएको चर्चा गर्दै नेता घिमिरेले अवसरवादीहरुले पार्टी छोड्दा कुनै फरक नपर्ने बताए । मनोनयन दर्ता गर्ने दिन विपक्षी गठबन्धनमा प्रवेश गरेर उम्मेदवार बनेका हरिकुमार रानाप्रति लक्षित गर्दै उनले थपे, “पार्टी छोड्ने अवसरवादीहरुलाई कार्यकर्ताले कदापी साथ दिँदैनन् ।”
सो कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको समाधान गर्दै निवर्तमान प्रदेशसभा सदस्य तथा सोही पदका उम्मेदवार एकराज कार्कीले यसअघि निर्वाचित भएपछि अधिकांश बाचा पूरा गरेको बताए । बजेटको परिधिमा रहेर काम गर्नुपर्ने भएकाले भनेजति काम गर्न नसकिएको हुनसक्छ । तर पनि सो अवधिमा २५ करोड रुपैयाँ आफ्नो क्षेत्रमा ल्याएर देखिने किसिमको काम गरेको उनको भनाई छ ।
मुलुकमा राजनीतिक मुद्दा किनारा लागिसकेकाले समृद्धिको अभियान जारी भएको बताउँदै उनले भने, “अब समृद्धिको अभियान एमालेले पूरा गर्छ ।”
प्रदेशसभा सदस्य पदका अर्का उम्मेदवार चिन्तन पाठकले झापामा स्वतन्त्रको बजार नरहेको जिकिर गरे । आफूलाई हारको पर्यायका रुपमा चित्रित गर्नु असान्दर्भिक भएको भन्दै उनले एकपटक स्थानीय तह चुनावमा हारे पनि यसपटक त्यस्तो नहुने दाबी गरे ।
“पहिला म टिकट बाँड्ने ठाउँमा थिएँ, कोही खुसी र धेरै रुष्ट पनि थिए” उतिबेलाको सन्दर्भ कोट्याउँदे उनले भने “अहिले त्यस्तो अवस्था छैन, पहिला भएका त्रुटीलाई पनि सच्याएर अघि बढेको छु ।”
क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य माथि एमाले झापा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले प्रकाश पारेका थिए । चुनावको व्यस्त समयमा राजनीतिक दलहरुले बनाएका कार्यक्रममा भ्याइ नभ्याईको अवस्थामा उम्मेदवारहरुले सबै पत्रकारहरुलाई समय दिन नसक्ने परिस्थितिलाई ध्यान दिएर यस्तो कार्यक्रमको परिकल्पना गरिएको काफ्लेको भनाई छ ।
फेरि पत्रकारले सोझै प्रश्नको उत्तर अपेक्षा गरेपछि उम्मेदवारले पनि लामो कुरा नगरी विषयमा केन्द्रित हुन पाउने भएकाले प्रश्नोत्तर विधि अवलम्बन गरिएको प्रचार विभाग प्रमुख काफ्ले बताउँछन् ।
सम्पादकसँग उम्मेदवारहरु कार्यक्रम जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा गर्ने तयारी रहेको जनाइएको छ । सो कार्यक्रमको सञ्चालन जिल्ला प्रचार विभागका सचिव प्रदीप परियारले गरेका थिए ।
Comments