Sajhamanch Archive

न्युटन्स एकेडमीमा आधारभूत तहका विद्यार्थीको तिहार विशेष कार्यक्रम

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by .

बिर्तामोड । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाहरुमा सांस्कृतिक पर्वको महत्व दर्शाउँदै गैर शैक्षिक क्षमता अभिवृद्धि गराउने उद्देश्यले बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडमीले आज तिहार विशेष सांस्कृतिक कार्यक्रम गरेको छ ।

अभिभावकहरुको उपस्थितिमा कक्षा १ र २ मा अध्ययनरत नानी बाबुहरुको गीत, नृत्य एवम् देउसीभैलोको प्रस्तुति मार्फत् उनीहरुमा सांस्कृतिक चेत भर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए । विद्यालय तहका विभिन्न स्तरका बालबालिकाहरुलाई फरक फरक स्थान र समयमा तिहार विशेष कार्यक्रम गरिएको उनको भनाई छ ।

‘न्युटन्समा हामी किताबी ज्ञानमा मात्र बालबालिकालाई सिमित राख्दैनौं’, स्वागत मन्तब्यका क्रममा प्रिन्सिपल हुमागाईंले भने ‘किताबका कुरा र बाह्य ज्ञानलाई सँगसँगै सिकाउँदै व्यवहारिक शिक्षा प्रदान गर्दछौं ।’

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा समितिका सदस्य तथा बिर्तामोड वडा नं. २ का वडाध्यक्ष किशोर पौडेलले मन्तब्य राख्दै बालबालिकाको शिक्षा माथिको लगानी बहुबर्से खेतीजस्तै भएको बताए ।

धान रोपे एक छिमल, तोरी छरे एक छिमल तर आँप, लिची, कटहर रोपे केही वर्षपछि फल्न थालेर बर्सौंसम्म फलिरहन्छ । यसैले बालबालिकाको शिक्षामा लगानी गर्न अभिभावकले कन्जुस्याईं गर्न नहुने वडाध्यक्ष पौडेलले धारणा राखे ।

आफ्नो नेतृत्वमा रहेको वडालाई बालमैत्री बनाउन बजेटको व्यवस्था गरिएको सुनाउँदै वडाध्यक्ष पौडेलले समानता सँगसँगै समता हुन आवश्यक रहेको पनि प्रष्ट पारे ।

सबै सार्वजनिक निकायहरु अस्पताल, विद्यालय आदिमा निर्माण गरिने शौचालय, सिढी, विद्यालयको डेक्सबेञ्च, पानी पिउने धारो आदि बालमैत्री बनाउनु पर्छ भन्ने अभियानमा लागेर वडाध्यक्षको पद बहाली गरेर पहिलो बैठकबाटै निर्णय गरिएको पनि उनले स्मरण गरे ।

कार्यक्रमको सुरुमा स्वागत मन्तब्य राख्ने दुईजना बालबालिकाको शैली सुनेर वडाध्यक्ष पौडेलले भने अतिरिक्त क्रियाकलापमा यहाँका नानीबाबुहरु अब्बल रहेछन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य भावना आचार्य घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन शिक्षक मुना काफ्लेले गरेकी थिइन् । सो तिहार विशेष कार्यक्रममा कक्षा १ र २ का सबैजसो विद्यार्थीहरुले आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *