Sajhamanch Archive

‘राजनीति व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि होइन’ महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरबार र दल भित्रका खराब पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् ।

काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले संघीय गणतन्त्र सुदृढ बनाउन पहिले सिंहदरबार सुधारेर नेतृत्वमा पुग्ने अनि दलका नेताहरूको आचरण सुधार गर्ने अभियानमा आफू लागिपर्ने बताएका हुन् ।

‘जनजीविकालाई असहज परिस्थितिबाट सहज बनाउने अभियानमा निरन्तर रहिरहेकोछु भन्दै उनले भने, ‘स्थानीय र केन्द्रीय आवश्यकता अनुसार मेरो भूमिका झापा १ का लागि निरन्तर रहनेछ ।’

नेपाली नागरिकलाई सुखी, खुसी र समृद्धिको यात्रामा लैजान ढाँटेर, छलेर नहुने भन्दै शर्माले गठबन्धन निर्वाचनका लागिमात्र नभएर राष्ट्रिय आवश्यकताका लागि र मुलुक निर्माणका लागि भएको दावी गरे ।

आफू मेची, निन्दा, हडिया र देउनिया किनारमै जन्मे हुर्केको भन्दै शर्माले उत्तरको बाहुनडाँगीदेखि दक्षिणमा चन्द्रगढीसम्मको भूगोलमा रहेका हरेक समस्या नियालिरहेको पनि प्रष्ट पारे । उनले जोखिम मोलेरै प्रत्यक्ष निर्वाचनमा तेस्रो पटक होमिएको बताउँदै पार्टी र देशको नेतृत्व गर्ने अठोटसमेत राखेका छन् ।

भद्रपुर ९ स्थित झापा क्षेत्र नं. १ (१) को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन समारोहको सभापतित्व काँग्रेस भद्रपुर ९ का सभापति चेतनाथ भट्टराई तथा भद्रपुर १० प्रदेशसभा १ (२) को उद्घाटन कार्यक्रमको सभापतित्व वडा सभापति विष्णुप्रसाद काफ्लेले गरेका थिए ।

कार्यक्रममा प्रत्यक्ष तर्फका प्रदेश सभा सदस्य उम्मेदवार गोपाल तामाङ र श्वामबीर लिम्बूले प्रतिबद्धता जाहेर गर्दै आफ्नो क्षेत्रको चौतर्फी विकासका लागि निरन्तर लागिरहने बताए ।

कार्यक्रममा नेकपा एसका संघीय संसदका समानुपातिक तर्फका उम्मेदवार तारा रूचाल, नेपाली काँग्रेसका प्रदेश सभाका समानुपातिक उम्मेदवार बालाजीत राई तथा कालुराम मेचेले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन निःसन्देह मतदान गर्न आग्रहसमेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *