राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य
Published: (Updated: )
by .काठमाडौं । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज साँझ विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्था बमोजिम निजको उम्मेदवारी अयोग्य ठहर गरेको जनाएका हुन् ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ’ सहायक प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेकोले निजको उम्मेदवारी खारेज गरी पाउँ भनी मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेश भएकोमा सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (२) मा भएको कानूनी व्यवस्था बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजातहरू प्राप्त भएको विज्ञप्तीमा जनाइएको छ ।
निज उम्मेदवार डा. कार्की मिति २०७८ पुष २ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको वैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ सम्म भत्ता बुझेको पाइएको उल्लेख छ ।
Comments