Sajhamanch Archive

यो वर्ष विरिङको छठपूजा भब्य बनाइने

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । कनकाई नगरपालिकाको बिरिङ खोला किनारमा आयोजना गरिने छठपूजाको तयारी पूरा भएको छठ समाज सेवा समितिले जनाएको छ ।

आज साँझ छठ समाज सेवा समितिको कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बिर्तामोड, चारपाने, लक्ष्मीपुर र आसपासका ब्रतालुहरुले पूजा गर्ने बिरिङ खोलामा घाटलगायत आवश्यक तयारी पूरा गरेको जनाएको हो ।

समितिका अध्यक्ष राजकुमार गुप्ताले करिब ४०० वटा घाट निर्माण गरिएको जनाउँदै गतवर्षको तुलनामा धेरैवटा घाट निर्माण गरिएको र आज टोकन पनि वितरण भइसकेको जनाए ।

छैठपूजामा सुरक्षा व्यवस्थाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइएको तथा यातायातको प्रबन्धका लागि ट्राफिक प्रहरीसँग समन्वय गरिएको अध्यक्ष गुप्ताले जनाए । पूजा आयोजनाका लागि ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको जनाउँदै अध्यक्ष गुप्ताले वर्तमान आर्थिक संकटको समयमा पनि दाताहरूबाट स्वेच्छिक सहयोग प्राप्त भएको बताए । ‘हामीले कसैलाई दवाव दिएर चन्दा मागेका छैनौं’ अध्यक्ष गुप्ताले भने ‘समाजको नियमित आयस्रोत, घाटवापतको रकम र स्वेच्छिक सहयोग जुटाएर पूजा सम्पन्न गर्नेछौं ।’

समाजका उपाध्यक्ष राजकुमार साहाले विभिन्न उपसमिति बनाएर छठपूजा सम्पन्न गरिँदै आएको जनाउँदै पूजाको औपचारिक कार्यक्रम अपरान्ह ३ बजेदेखि हुने बताए । पूजास्थलमा नै साँझ ७ बजेदखि सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने बताउँदै उपाध्यक्ष साहाले सांस्कृतिक कार्यक्रमका लागि भारतबाट कलाकारहरू आउने जानकारी दिए ।

‘पूजास्थलमा हेल्थडेक्सको स्थापना गरेका छौं, एम्बुलेन्स तयार छ’ उपाध्यक्ष साहाले भने ‘विगत वर्षहरुमा झैं विरिङको छैठपूजामा विभिन्न धार्मिक समूहसहित पहाडी समुदायको धेरै उपस्थिति रहनेछ।’

समितिका महासचिव मनोजकुमार रौनियारले सञ्चालन गरेको पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष घनश्याम चौधरीले छठपूजाबारे इतिहासदेखि वर्तमानसम्मको विवरण समेटिएको सामग्री वाचन गरेका थिए । उनले कोरोना महामारीका कारण विगत दुईवर्ष उत्ति हर्षोल्लास गरी छैठ मनाउन नपाइएकोले यो वर्षको सहभागिता अधिक रहने अपेक्षा सुनाए ।

‘अन्यत्रसँग प्रतिष्पर्धा चाहिँ गर्ने होइन तर विरिङमा ब्रतालु र दर्शालुको ठूलो उपस्थिति रहन्छ भन्नेमा हामी विश्वस्त छौं’ निवर्तमान अध्यक्ष चौधरीले सुनाए ।

कार्तिक शुक्ल चतुर्थीको दिनबाट शुरु हुने छठ चार दिनसम्म मनाइन्छ । तेस्रो दिन नदी किनारामा सजाइएको घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पूजा समाप्त हुन्छ । यो वर्ष कात्तिक १३ गते बेलुका र १४ गते बिहान सूर्यलाई अर्घ्य दिइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *