Sajhamanch Archive

भद्रपुरमा भव्य छठपूजा स्थल, तयारी पूरा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by .

भद्रपुर । प्रदेश १ कै सर्वाधिक ब्रतालु तथा अवलोकनकर्ता भेला हुने नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज आइतबार बेलुका अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै मनाइने मिथिलाञ्चलबासीको मुख्य चाड छठपर्वका लागि भद्रपुर ५ स्थित मेची नदी किनारमा तयारी पूरा भएको हो ।

धार्मिक, साँस्कृतिक एकताको प्रतिकका रूपमा नेपाल र भारत दुवै देशका ब्रतालु परिवारजनले मेची नदी किनारमा एक साथ छठपर्व मनाउँदै आएका छन् । हिमाल, पहाड र तराइका बासिन्दाले साझा रूपमा पूजा गर्दै आएको छठ पूजा भारतको बङ्गाल तथा विहार दुईवटा राज्यसँग जोडिएको मेची नदीमा मनाइने प्रदेश १ कै सबैभन्दा फराकिलो र लामबद्ध छठ पूजा स्थलको रुपमा चिनिएको छ ।

छठपूजाका लागि मेची किनारको मसानघाटदेखि मेची पूलको मुख्य प्रवेशद्वार हुँदै देवी बस्तीसम्मको करिब डेढ किलोमिटरमा ५ हजार भन्दाबढी पूजास्थल (घाट) निर्माण गरिएको छ । घाट व्यवस्थापन, बिजुली जडान, पण्डाल निर्माण र सरसफाइ लगायतका काममा मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिक रूपमा लागिपरेका छन् । मेची नदी पूर्वपट्टिको भागमा भातगाउँबासी पनि छठपूजाका लागि पण्डाल र घाट व्यवस्थापनको काम सम्पन्न गरेका छन् ।

नदीमा किनारमा बिजुली बत्ती जडान, अस्थायी बाँसेपूल निर्माण, सरसफाई, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मूर्तिस्थल निर्माण गरिएको मैथिल समाजका अध्यक्ष रमेशचन्द्र झाले बताए । अनुमानित ४ लाख बजेट खर्च हुने बताउँदै उनले भने, ‘भद्रपुर नगरपालिका, चन्दादाता, भक्तजन, संघ–संस्थाबाट रकम संकलन कार्य हुँदैछ ।’

‘विवादका कारण मैथिल समाजले यसपल्ट घाट निर्माणको जिम्मा लिएको छैन’ उनले भने, ‘ब्रतालु परिवारजन आफैंले घाट निर्माण गरेका हुन्, समाजले पूजास्थल वरिपरी व्यवस्थापनको जिम्मा मात्र लिएको छ ।’

उता युनिक समूहले भने आफैंले घाट निर्माण गरिसकेको छ । समूहले १० फुट घाटको १५०० सय रुपैयाँसम्म लिएको समूहका निवर्तमान अध्यक्ष नारद राजवंशीले बताए । गरिब तथा विपन्न परिवारका लागि २० वटा घाट निःशुल्क उपलब्ध गराउने उनको भनाई छ ।

मधेसी समुदायबाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशीलगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदै आएका छन् । मेची नदीमा छठ हेर्न भारतसहित देशका विभिन्न जिल्लाबाट करिब ५० हजार भक्तजन आउने गरेको आयोजक समितिको भनाई छ । ‘मेचीसहित, विरिङ, निन्दा, अन्धुवा, देउनियाँ, हँडिया, कनकाई माई, मावा, कमललगायतका नदीहरूमा पनि छठ पूजाको तयारी पूरा भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *