२,३६,८०,५०० मतपत्र छपाइ, ८ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न, ५१ वटामा जारी
Published: (Updated: )
by .काठमाडौं । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ ।
आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको हो ।
आज कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ ।
यसैगरी यी जिल्लामध्ये समानुपातिक तर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिक तर्फको पनि मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।
साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र पनि ढुवानी हुने जनाइएको छ ।
निर्वाचन सामग्री ढुवानी ८ वटा जिल्लामा सम्पन्न, ५१ वटामा जारी
निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।
यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।
यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ ।
आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गर्नुपर्ने हुन्छ ।
Comments