‘नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ : ओली
Published:
by .झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको आरोप लगाएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउनेभन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको उनको भनाई छ ।
झापाको दमक–९ स्थित कृष्ण मन्दिर चौकमा नेकपा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको मतदातासँग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘‘नेकपा एमालेको नेतृत्वमा भएको सरकार ढाल्ने कामसमेत यही नेता बिकाउ धन्दामा लागेकाले भएको हो । एमालेभित्र पनि यस्तो सोच राखेका नेता थिए । जसले मुलुक बनाउनेभन्दा आफू कसरी बन्ने भन्ने आशयले पार्टीभित्र चरम गुटबन्दी र बिकाउमा लागेर पार्टी फुटाएर आफ्नै पार्टीको सरकार ढालेका थिए’ अध्यक्ष ओलीले आफ्नो भनाईको आशयलाई प्रष्ट पारेका छन्।
‘२०७४ सालको निर्वाचनको परिणाम आएपछि नै तत्कालीन नेकपाको नेतृत्वमा सरकार बनाउनै नदिने खेल सुरु भयो । यो खेल सफल नभएपछि मेरो नेतृत्वमा सरकार गठन भयो । एमाले र माओवादी एकीकरणपछि पार्टीभित्र झन ठूलो समस्या आयो । सरकारलाई काम गर्न नदिने, असफल बनाउने षडयन्त्रका बीच ४१ महिनामा नै सरकार अल्पमतमा पुर्याएर ढाल्ने काम भयो । त्यसपछि देश विकासको काम पूर्ण रुपमा ठप्प भयो ।’
विभिन्न चुनौतीका बीच पनि एमालेको सरकारले छोटो समयमा गरेको अस्वाभाविक विकास निर्माणले गर्दा खाने धन्दा बन्द हुने भयो भनी अनैतिक र अप्राकृतिक गठबन्धन बनाई अहिलेको सरकार भ्रष्टाचार र कमिशनखोरहरुको चङ्गुलमा चलिरहेको र मुलुकलाई असफलताको बाटोतिर अघि बढाइरहेको बताउँदै अध्यक्ष ओलीले यसलाई रोक्न पनि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले आफ्नो सरकार हुँदा अघि बढेका योजनासमेत अहिले सबै कटौती गरेर सरकार कमाउने खाने धन्दामा लागेको, नातावाद, गुटबन्दी गर्नमै व्यस्त रहेको दोहोर्याए । आफ्नो नेतृत्वको सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हास्ने नेपाली काँग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्याउन रेलमार्ग निर्माण गरिने लेखेको उनले सुनाए ।
अहिले रेलमार्गको जग्गाको मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनै लाग्दा आफ्नो सरकार ढालेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री ओलीले भने आफ्नो नेतृत्वको सरकारले विकासका ठूला–ठूला योजना अघि बढाएको, त्यस बाहेक मानिसका दैनिक जनजीवन सहज बनाउने, गरिव आवास कार्यक्रम अन्तर्गत लाखौँ विपन्नलाई घर निर्माण गरिएको, बालबालिका र बृद्धबृद्धालाई समेत संरक्षणका कार्यक्रम अघि बढाइएको थियो ।
Comments