Sajhamanch Archive

गुजरातको मोरबी पूल चुडिंदा १३७ जनाको मृत्यु, १०० जना घाइते, ५० जना बेपत्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज by .

नयाँदिल्ली। गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पूल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको सञ्चार माध्यमहरुमा खबर छ ।

समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मोरबी पूल हालैमात्रै मर्मत गरिएको थियो । उक्त पूलमा चढ्नका लागि १७ रुपियाँ शुल्क लिइन्छ । बालबालिकालाई १२ रुपियाँ शुल्क लिइन्छ । आइतबार साँझ उक्त पूलमा क्षमताभन्दा बढी मानिसहरु रहेकाले पूल चुडिएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीयका अनुसार पूल चुडिने बेला त्यहाँ करिब ४०० जना मानिसहरु रहेको अनुमान छ । यद्यपि कति जनाले टिकट काटेका थिए भनेर तथ्यांक केलाउने काम पनि भइरहेको स्थानीय मिडियाहरुले लेखेका छन् ।

मोरबी पूल वर्षौं पुरानो हो । केही वर्षयता बन्द रहेको उक्त पूल पछि दीपावलीको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त पूल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको छ ।

मोरबी शहरको सरकारी वेबसाइटमा यो पूललाई ‘इन्जिनियरिङको चमत्कार’ लेखिएको छ । १ दशमलव २५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको सो पूलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *