उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न, प्रदेश १ र मधेश प्रदेशमा आज सार्वजनिक बिदा
Published:
by .झापा । बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यो वर्षको छठपर्व विधिवत रुपमा सकिएको छ ।
जलासय किनारमा पूजा सामग्रीसहित ब्रतालुले आदिदेव सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिनलाई ‘पारन’ भन्ने गरिन्छ । सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन पोखरी, नदी, इनार लगायतको जलासय किनारमा हिजो दिउँसोदेखि नै पूजा सामग्रीसहित श्रद्धालु तथा ब्रतालु पूजा आराधना गरी बसेका थिए ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् ।
त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुने गर्दछ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।
ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र, बिहानपख सूर्य उदाउनु केही बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन् ।
उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।
आज प्रदेश १ र मधेश प्रदेशमा सार्वजनिक बिदा
छठ पर्वको अवसरमा प्रदेश १ सरकार र मधेश प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन् । मिथिलाञ्चलसहित तराइ मधेशको महापर्वको रुपमा छठ मनाउने गरिएकोले दुईवटै सरकारले आजको दिन बिदा दिन थालेका हुन् । प्रदेश सरकारले राजपत्रका वार्षिक विदा प्रकाशन गर्दा नै आजको विदा उल्लेख भएको थियो ।
Comments