Sajhamanch Archive

मंसिर ४ को निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याएका छन् ।

आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले उक्त दावी गरेका हुन् ।

अध्यक्ष ओलीले अहिले १५० सिट जित्ने गरी एमाले चुनावी अभियानमा होमिएको बताए । उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्त्वयसहित हामी निर्वाचनमा गएका छौँ । एमालेका काम जनताले देखेका छन् ।’

अध्यक्ष ओलीले समानुपातिक तर्फ एमालेलाई ५१ प्रतिशत लोकप्रिय मत दिए बहुमत पुग्ने बताए । भने, ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ । यसपटक जनता ओइरिएका छन्। राष्ट्रमा स्थिरता र स्थायित्वको मिशन हो यो। पार्टी प्रवेशको लहर चलेको छ, बहुमत नल्याउने कुरै छैन।’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको प्रष्ट पारे । घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा अध्यक्ष ओलीले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको प्रष्ट्याएका हुन्।

निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो । यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो’ अध्यक्ष ओलीको भनाई छ ।

एमाले देश विकास गर्ने पार्टी भएको घोषणापत्रले पनि सोही कुरा देखाएको कताउँदै उनले थपे, ‘एमाले विकासप्रेमी मात्रै होइन‚ विकासका लागि प्रतिबद्ध र क्रियाशील तथा नेतृत्व गर्न सक्ने पार्टी हो । त्यसैले एमालेलाई एकल बहुमत आवश्यक छ ।’

विगतमा जोडबल गरेर दुई तिहाइ पुर्‍याइएको भएपनि त्यो अरुकै कारणले कायम राख्न नसकिएकाले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट एमालेलाई बहुमत चाहिएको ओलीको कथन छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *