Sajhamanch Archive

कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल, माओवादीको चिह्नमा उम्मेदवार बनेका रानाको जमानत जोगिएला !

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

झापा । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सोचेजस्तो सहयोग नपाउने अवस्था रहेको प्रतिदिनमा खबर छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसँगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी घरदैलोमा कांग्रेसका नेता कार्यकर्ताहरु त्यति खुलेर लागेका छैनन् । जसबाट रानाले चुनाव जित्ने माहोल देखिएको छैन ।

माओवादीको कोटामा रानाले टिकट पाएपछि असन्तुष्ट बनेका कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी निर्वाचनमा भाग नलिने मनसायले अष्ट्रेलिया गइसकेका छन् । उनी अष्ट्रेलिया गएको १० दिन भयो । आफ्नो र आफ्नी श्रीमतीको स्वास्थ्य जाँच गराउन आफूहरु अष्ट्रेलिया आएको उनले जनाएका छन् । बुढाथोकीले उपचार पूरा गरेर मात्र आफूहरु फर्किने जानकारी दिएका छन् ।

कांग्रेसको जिल्ला समितिलाई खबर नै नगरी बुढाथोकी अष्ट्रेलिया गएको बताइएको छ । निर्वाचनको समयमा स्वदेश फर्किने वा नफर्किने विषयमा पूर्वमन्त्रीसमेत रहेका बुढाथोकीले प्रष्ट्याएका छैनन् । उनी झापा क्षेत्र नं. २ मा कांग्रेसका तर्फबाट टिकटको प्रवल दावेदार रहेका थिए । टिकट पाउने कुरामा ढुक्क देखिएका उनले भोट माग्न थालिसकेका थिए । तर, अन्तिम समयमा आएर झापा २ आफ्नो भागवन्डामा पार्न माओवादी सफल बन्यो ।

कांग्रेसका तर्फबाट बुढाथोकीसँगै सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, छत्रबहादुर गिरी र जलकुमार गुरुङ आकांक्षी थिए । तीमध्ये केहीले मात्र रानाको उम्मेदवारीप्रति चित्त बुझाएका छन् । आफू पनि गठबन्धनको चुनावी कार्यक्रममा हिडिरहेको टिकटका आकांक्षी रहेका कांग्रेसमा महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरीले बताए । ‘हरिजीलाई बोकेर हिडिरहेका छौं’ उनले भने, ‘यसपाली जनताको मन अर्कै छ।’

करिव ६ महिनाअघिको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा झापा क्षेत्र नं २ मा नेकपा एमालेको मत करिव ३६ हजार रहेको थियो । त्यसपछि दोस्रो स्थानमा रहेको कांग्रेसको मत ३४ हजार रहेको थियो । माओवादीले भने करिव ५ हजार मत मात्र पाएको थियो ।

यस निर्वाचन क्षेत्रमा २५ वटा वडा रहेका छन् । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १, २ र ३ अर्जुनधारा नगरपालिकाको ११ वटै वडा, बिर्तामोडको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ८ र ९ नम्बर गरी जम्मा २५ वटा वडा रहेका छन् । २५ वटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा एमालेले १३, कांग्रेसले ११ र राप्रपाले एउटा वडामा विजय हासिल गर्दा माओवादीले कुनै पनि वडाध्यक्ष जित्न सकेको थिएन ।

यस्तो अवस्थामा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका रानाले माओवादी केन्द्रको चुनाव चिन्हमा कति मत पाउलान् ? अघिल्लो दिनसम्म नेकपा एमालेको जिम्मेवार नेता( रातारात अर्को दलको चुनाव चिन्हमा उम्मेदवारी दिएपछि के उनले जमानत त जोगाउलान् भन्ने सत्तारुढ दलहरुको बैठकमा नै यस्तो प्रश्न उठिरहेको बताइन्छ ।

झापा २ मा एमालेसँग कम्पिटीसन मत रहेको कांग्रेसले सामान्य जनमत रहेको माओवादीलाई बोकेर हिड्न नमिल्ने भनेर कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिएको हो । त्यही असन्तुष्टिकै कारण कांग्रेसका कुमार भट्टराईले गठबन्धनका उम्मेदवार रानाविरुद्ध वागी उम्मेदवारी दिएका छन् । भट्टराईलाई कांग्रेसले कार्वाही गरिसकेको छ । उनी स्वतन्त्र भएर चुनाव लड्दैछन् ।

कांग्रेसले टिकट नपाउँदाको अबस्थामा कांग्रेस कार्यकर्ताहरुको सहानुभूति स्वतन्त्र उम्मेदवार भट्टराई र वीपी कांग्रेसका उम्मेदवारप्रति रहनसक्ने एक नेताले बताए । झापा २ मा वीपी कांग्रेसका तर्फबाट नारायण भारतीले उम्मेदवारी दिएका छन् ।

रानाको साथमा सिटौला प्यानल

केन्द्रमा सत्तारुढ गठबन्धनमा टिकटको भागवन्डा मिलाउन कांग्रेसको तर्फबाट गगन थापा, ज्ञानेन्द्र कार्की र कृष्णप्रसाद सिटौलाले जिम्मेवारी पाएका थिए । सिटौलाको सहमतिमा झापा २ माओवादीले पाएको बताइन्छ । झापा ३ मा आफ्नो लागि टिकट सुरक्षित गरेर माओवादीको भोट पाउनका लागि सिटौलाले झापा २ माओवादीलाई दिएको फरक प्यानलका कांग्रेसका एक नेताले बताए ।

झापा २ मा कांग्रेस र एमाले प्रतिष्पर्धामा रहेका बेला ५ हजार मत हुने माओवादीलाई टिकट दिने सिटौला को हुन् ? भन्ने प्रश्न गर्दै उनले आफू कताबाट छिर्ने भनेर सिटौलाले आफ्नो स्वार्थ मात्र हेरेको आरोप लगाए ।

निर्वाचनमा आफ्नो घर भएको वडा भद्रपुर १० मा जित्न नसकेपछि विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र १ मा खन्याइदिने र पार्टीको पकड भएको बिर्तामोड १० लाई क्षेत्र नं ३ मा गाभ्नेजस्ता काम गरेर सिटौलाले आफ्नो मात्र स्वार्थ पूरा गर्न खोजेको उनको भनाई छ ।

झापा क्षेत्र नं. २ मा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा सिटौलाले नै सुधिरकुमार शिवाकोटी, छत्रबहादुर गिरी र जलकुमार गुरुङलाई उठाएको बताइन्छ । आकांक्षी शिवाकोटी अहिले गठबन्धनका उम्मेदवार जिताउन निर्वाचन मूल परिचालन समितिका संयोजक छन् ।

रानालाई निर्वाचनमा जिताउन सके शिवाकोटी सिटौला प्यानलबाट केन्द्रीय सदस्यमा मनोनित हुने संभावना रहेको पार्टी स्रोतले जनाएको छ । कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा देखिएको अन्तरविरोध यस निर्वाचनमा पनि कायम छ । माओवादीका रानालाई जिताउन कांग्रेसको सिटौला प्यानल लागेको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *