झापामा २८५ मतदानस्थल र ७६८ मतदान केन्द्र रहने
Published:
by .झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया गर्दै निर्वाचनका लागि आवश्यक तयारी चरणवद्धरुपमा गरिरहेको जनाएको छ ।
आज बिहीबार भद्रपुरमा आयोजित निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले मतदान केन्द्रहरुमा आवश्यक पर्ने निर्वाचन सामग्री ९५ प्रतिशत प्राप्त भइसकेको र आफूहरुले पनि प्याकेजिङ गरिरहेको जानकारी दिए ।
उनका अनुसार यो निर्वाचनका लागि झापामा ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन् । जुन संख्या गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनभन्दा १३ हजार संख्याले बढी हो । पुरुष मतदाताको संख्या ३ लाख ३१ हजार ४४ जना, महिला मतदाताको संख्या ३ लाख ३२ हजार २६९ जना र अन्य मतदाता संख्या ८ रहेको जिल्ला निर्वाचन अधिकारी नेपालले तथ्याङ्क सुनाए ।
आसन्न निर्वाचनमा झापा क्षेत्र नं. ५ मा सबैभन्दा धेरै १ लाख ५४ हजार २८९ जनाले जना मतदाता रहेका छन् भने क्षेत्र नं. १ मा सबैभन्दा कम १ लाख २० हजार ३७५ जना रहेको नेपालले बताए ।
आसन्न निर्वाचनमा खटिने कर्मचारी, प्रहरी, सेना तथा कारागारमा रहेका मतदानको अधिकारप्राप्त कैदीबन्दीहरुले प्रतिनिधिसभाको समानुपातिक तर्फ मतदान गर्न पाउने भएको जनाउँदै निर्वाचन अधिकारी नेपालले ६ हजार २४२ जना अस्थायी मतदाता थपिएको जानकारी दिए ।
सो अन्तरक्रियामा निर्वाचन लक्षित सुरक्षा सतर्कता, आचारसंहिता उल्लङ्घन रोक्न जनशक्ति परिचालन लगायतका विषयमा छलफल भएको थियो । निर्वाचनमा खटाइने जनशक्तिको तयारी, म्यादी प्रहरीे व्यवस्थापन, राजनीतिक दलहरुसँग विषयगत छलफल तथा समन्वय आदि भइसकेको उक्त कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
उनले निर्वाचन बिरोधी गतिविधि हुन नदिन सुरक्षा सतर्कता उच्च बनाइएको जानकारी पनि गराए । झापामा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको जनाउँदै तीमध्ये केही केन्द्रलाई अति संवेदनशील र संवेदनशील सूचिमा राखिएको उनको भनाई छ । यो पटक अस्थायी मतदाताका लागि कारागार र जिल्ला सदरमुकाममा २ वटा अस्थायी मतदान केन्द्र पनि राखिएको छ ।
सो कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन अधिकृत मधु पोखरेलले झापामा छिटपुटरुपमा मात्र आचारसंहिता विपरितका घटना भएको जनाए । निर्वाचन आचारसंहिता उल्लघंनका घटना रोकथामका लागि पनि जिल्लाभर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उनले राष्ट्रपतिदेखि मतदातासम्मले आचारसंहिताको पालना गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार र सञ्चार माध्यमको भूमिका विषयमा प्रस्तुति गरेका थिए । झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रममा उठेका जिज्ञासाहरु माथि उनले प्रष्ट्उँदै निर्वाचनलाई स्वच्छ एवम् भयरहित बनाउन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
Comments