Sajhamanch Archive

स्वर्गीय बाबु देवीप्रसादको स्मृतिमा निर्मल भट्टराई परिवारद्वारा मन्दिर निर्माण

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका छन् ।

स्व. देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई एक करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरी आज बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देन, वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई, बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निर्माण गरिएको शिलालेखको अनावरण गरी मन्दिर हस्तान्तरण गरेका हुन् ।

नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कठ्ठा १ धुर जग्गादान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि दुई वर्ष पहिले २०७७ कात्तिक १७ गते कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको थियो ।

पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाएर जग्गासमेत दान गरिसकेको अवस्थामा उहाँको देहावसान भएकाले आफूहरुले उहाँको सदिच्छा पूरा गरेको छोरा निर्मल भट्टराईले बताए ।

“बुबाले मन्दिर बनाउने उद्देश्यले जग्गासमेत व्यवस्थापन गर्नुभएको थियो” उनले भने, “उहाँको सोचलाई हामीले मूर्तरुप दिएका हौं ।”

मन्दिर निर्माणसँगै पिताको स्मृतिमा ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न लागिएको समेत उनले बताए । कोषबाट प्राप्त रकम विपन्न समुदायको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने र क्रमशः कोषलाई एक करोड रुपैयाँको बनाइने उनको भनाई छ ।

भट्टराई परिवारले सो भवन निमार्णका लागि दिएको जग्गाको धनिपूर्जा आज नै मन्दिर समितिलाई हस्तान्तरण गरेको छ । युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई उनकी श्रीमती सुमित्रा र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनिपूर्जा वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्र, नगरप्रमुख बलदेव सिंह गोम्देन र मन्दिर समितिका अध्यक्ष शान्ता विष्टलाई हस्तानतरण गरेका हुन् । कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले सक्षम समाज निर्माणमा धर्मको योगदान उच्च हुने बताए । “धर्मले मानिसलाई अनुशासित र समक्ष बनाउन मद्दत गर्नेसमेत उनले सुनाए ।

“समाजलाई समृद्ध बनाउन धर्मको महत्वपूर्ण योगदान रहेका भन्दै नगरप्रमुख गोम्देनले भट्टराई परिवारले मन्दिर निर्माण गरेकोमा सराहना व्यक्त गरे । गोम्देनले मन्दिरको थप विकास लागि नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *