‘निर्वाचनका लागि प्रदेश १ मा सुरक्षा संयन्त्र मजवुत बनाइँदै’ : मन्त्री कार्की
Published:
by .विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताएका छन् ।
आज शनिबार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त आयोजनामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित वातावरणमा निर्वाचन गराउन मन्त्री कार्कीले प्रशासनलाई निर्देशन पनि दिएका छन् । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउने बताउँदै मन्त्री कार्कीले योजना र कार्यदिशाका साथ निर्वाचन सम्पन्न गर्ने दोहोर्याएका हुन् ।
प्रदेश सरकारले निर्वाचन सम्पन्न गर्नका लागि १४ जिल्लाका निर्वाचन कार्यालयमा सुरक्षाका लागि आवश्यक साधन स्रोत उपलब्ध गराउन निर्देशन दिएको उनले बताए ।
निर्वाचनमा सूचनाको संयन्त्र प्रभावकारी बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले निर्णयका कुराहरू एकरूपताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिए । कार्यक्रममा १४ जिल्लाकै सुरक्षाका अधिकारीहरूले जिल्लाको स्थितिका बारेमा प्रस्तुति गरेका थिए ।
Comments