क्षेत्र नं. २ मा रानालाई टिकट दिन मनोनयनको अघिल्लो रातभर भएको थियो यस्तो कसरत
Published:
by .झापा । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्र झापा क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो ।
पूर्व सांसद तथा माओवादी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भए पनि उनले टिकट नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार रानालाई जिम्मा लगाइन् । अर्जुनधारा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका एमाले नेता रानाले टिकट कै लागि रातारात पार्टी छोडे ।
रानाले रातारात एमाले पार्टी छाडेको घटना अप्रत्यासित र उदेकलाग्दो रहेको कांग्रेसका एक नेताले बताए । रातारात एमाले पार्टी छोडेर एक्लै आएका रानालाई टिकटको लागि माओवादीमा ल्याइनुमा पाँचजनाको मुख्य हात रहेको ती कांग्रेसका नेताले जानकारी दिए ।
उनका अनुसार माओवादीका इन्द्र आङ्बो मौसम, धर्मशीला चापागाईं, झलकसिंह दर्लामी मगर (सन्देश), कांग्रेसका उद्धव थापा र सुधिरकुमार शिवाकोटीको पहलमा राना एमाले छोडेर माओवादीमा गएका हुन् । टिकट पाए पनि चुनाव नजित्ने देखेपछि माओवादी नेतृ चापागाईले रानालाई टिकट सुम्पेकी हुन् । रानालाई उम्मेदवार बनाउनु अघि उनले राम कार्की पार्थलाई प्रस्ताव गरेकी थिइन् । तर, कार्कीले चुनाव जित्न गाह्रो पर्ने देखेर अस्वीकार गरेपछि चापागाईं लगायतले रानालाई उम्मेदवार खडा गर्ने निर्णय गरेको ती नेताले खुलासा गरे ।
त्यसपछि चापागाईंसहितका नेताहरु राति २ बजे हरिकुमार रानाको घरमा पुगेका थिए । रानाको घर पुग्नुअघि चापागाईंले माओवादी हेडक्वाटरमा आफू नउठ्ने जानकारी गराइसकेकी थिइन् । उनीहरुले उम्मेदवार बन्न प्रस्ताव गरिरहँदा रानाले शुरुमै हिम्मत गरेनन् । ती नेताका अनुसार रानालाई विश्वस्त गराउन उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्न लगाए ।
दाहालले आफूबाट राजनीतिक प्रोटेक्सन हुने आश्वासन दिए । त्यतिले नपुगेपछि उनीहरुले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई फोन गर्न लगाए । सिटौलाले पनि त्यसरी नै आश्वासन दिए । त्यही आश्वासन कांग्रेसका प्रदेश सभापति उद्धव थापासमेतबाट पाएपछि राना उम्मेदवार बन्न राजी भएको ती नेताको भनाई छ ।
उनका अनुसार सिटौलाले कांग्रेसले बेइमान नगर्ने र थापाले आफैं जिताउन लाग्ने भरोसा रानालाई दिएका छन् । त्यही प्रतिवद्धता पूरा गर्न कांग्रेसका नेताहरु लागिपरेका छन् । झापा क्षेत्र नं २ का विभिन्न वडामा पुगेर अध्ययन गर्दा नजितिने देखेपछि चापागार्इंले उम्मेदवारी छोडेको बताइएको छ । त्यसअघि टिकटका आकांक्षी कांग्रेसका केशवकुमार बुढाथोकीले झापा क्षेत्र नं २ मा आफ्नो लागि माहोल बनाइसकेका थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।
Comments