Sajhamanch Archive

गठबन्धनले चोरेका उम्मेदवार देवराजका मामुली कार्यकर्ता : एमाले अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले आफूभित्र उपयुक्त पात्र नै नभेटेर उम्मेदवार बनाउन एमालेबाट कार्यकर्ता चोरेको ब्यङ्ग्य गरेका छन् ।

आज साँझ झापाको सालबारीस्थित सुखानी शहीद स्मृति पार्कमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा गठनबन्धनले एमालेबाट रातारात कार्यकर्ता लगेर आफ्नो उम्मेदवार बनाएको टिप्पणी गरेका हुन् ।

ओलीले भने ‘गठबन्धसँग उम्मेदवार नै छैनन्, हाम्रो पार्टीबाट तानेर लगेर उम्मेदवार बनाएको व्यक्ति क्षेत्र नं. २ मा सूर्य ध्वजावाहक उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता हुन् ।’

आसन्न मंसीर ४ को निर्वाचनलाई लक्षित गरेर दुई दिनको लागि झापा आएका ओलीले लोकतन्त्रको सुन्दर पक्ष भनेको सबैले आफूलाई योग्य सम्झेर अवसरमा दावी गर्नु हो । तर स्वतन्त्रका नाममा वा विभिन्न हाउभाउ गरेर आए पनि भ्रममा नपर्न उनले कार्यकर्तालाई आह्वान गरे ।

‘कोही शंख फुक्दै त, कोही घण्ट बजाउँदै आएका छन्’ उनले भने, ‘कपाल पालेर आउन पाइन्छ, लट्टा पालेर आउन पाइन्छ, मुन्द्रा र टप लगाएर आउन पाइन्छ । उम्मेदवार हुनु एउटा कुरा हो, तर रहर लाग्दैमा सांसद हुन सकिँदैन ।’

उनले एमालेले अघि सारेका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गर्दै देवराज, चिन्तन र एकराजका विषयमा विभिन्न विशेषयुक्त प्रशंसा पनि गर्न भ्याए ।

पर्यटकीयस्थल सालबारीको सुखानी पार्कमा भएको चुनावी सभामा अध्यक्ष ओलीले क्षेत्र नं. २का एमाले उम्मेदवार देवराज घिमिरेको राजनीतिक संघर्षका बारेमा लामो चर्चा गरे ।

‘यही ठाउँलाई आधार बनाएर, यही ठाउँको विकास र समृद्धिका बारेमा सधैं चिन्तित हुने देवराज घिमिरेलाई झापा २ का हर घर र हर ढोकाले चिनेको छ । उनले थपे, ‘ देवराज घिमिरेको यसघिको राजनीतिक सक्रियताका कारणले गर्दा हरेक नागरिकको मनमा बसेको ब्यक्ति भएकोले घर घर गएर भोट मागी रहनु नपर्ने पनि बताए ।

‘५० वर्षदेखि निरन्तर पार्टीको काम, संगठन निर्माणमा सकृय ब्यक्तिले बल्ल टिकट पाएको छ ।” घिमिरेको राजनीतिक संघर्ष स्मरण गर्दै ओलीले भने ‘यति त्यागी, सादगी नेता , सधैं अरुलाई चुनाव जिताउने नेता अब संसदमा पुग्नु पर्छ र यस क्षेत्रका नागरिकको आवाज अब उहाँले त्यहाँ बोल्नु पर्छ ।”

एमाले अध्यक्ष ओलीले घिमिरेको इमान्दारिताको प्रशंसा गर्दै भने ‘यहाँका किसानको कष्ट, मजदुरको मर्म, ब्यापारीको ब्याथा, विद्यार्थीको विचार घिमिरेले मसिनोसँग बुझ्नु भएको छ । त्यसैले यो बुझाईलाई अब संसदमा पुर्याउनै पर्छ ।’

अध्यक्ष ओलीले प्रदेशसभा सदस्य पदका उम्मेदवारद्वय चिन्तन पाठक र एकराज कार्कीको पनि राजनीतिक पृष्ठभूमि, त्याग, जिम्मेवारीपनबारे खुलेर चर्चा गरे ।

झापा क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा एमाले झापा जिल्ला उपाध्यक्ष प्रेम गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले र राप्रपाको तालमेलबाट बनाइएका संयुक्त उम्मेदवारहरु देवराज घिमिरे, चिन्तन पाठक र एकराज कार्कीले सम्बोधन गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको २ नम्बर क्षेत्रीय अध्यक्ष दिपक मास्केले स्वागत गरेको कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले तालमेल भएका दुवै पार्टीका उम्मेदवारहरुलाई इमान्दार भएर मतदान गरी १५ जना नै हाम्रा उम्मेदवारहरुलाई जिताउनु पर्नमा जोड दिए । कार्यक्रममा संक्षिप्त मन्तब्यसहित एमाले नेतृ जसमाया गजमेरले समापन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *