Sajhamanch Archive

झापा क्षेत्र नं. १ : चिया मजदूरको ज्याला २५ हजार, रिटायर्डलाई आवास

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज by .

मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले नेकपा एमालेले किसान र मजदूरलाई बिर्सेर अघि नबढ्ने बताएका छन् ।

नकलबन्दा टी–स्टेटका मजदूरहरुका समस्या बुझ्दै वर्गीय असमानताको पक्ष विरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको खरेलको भनाई छ ।

“जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष, गरीब, विपन्न र असहाय र सुकुम्बासीको हितमा काम सुरु गर्छ” खरेलले अगाडि भनेका छन्, “तर जब कांग्रेसको सरकार बन्छ, एमाले सरकारले निर्णय गरेको कुरा पनि कार्यान्वयन हुँदैन ।”

उनले नेकपा एमालेको सरकारकै पालामा श्रमिकहरुको ज्याला १५ हजार रुपैयाँ पुर्याएको र अब बन्ने एमाले सरकारले न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्याउने उनीहरुलाई आश्वासन दिए । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खरेलले नेकपा एमालेको हालै सार्वजनिक भएको घोषणा पत्रमा श्रमिकको ज्याला २५ हजार तोकिएको र त्यसलाई सरकार बने लगत्तै व्यवहारमा कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

क्षेत्र नं. १ प्रदेश सभा (१) का उम्मेदवार रविन कोइरालाले जनता र मजदूरको अभिभावक पार्टी एमालेले घरवारविहीनलाई बसोवासको व्यवस्था मिलाउने बताए । उनले भने, “बगानबाट रिटायर्ड भएका मजदूरको भविष्यमा बसोवासका लागि नेकपा एमालेले एकीकृत बस्तीको व्यवस्था गर्ने उनीहरु समक्ष प्रतिवद्धता व्यक्त गरे ।

चिया मजदूर संघको केन्द्रीय महासचिव रामबहादुर राईले एमालले बनाएको ऐन, कानुनलाई समेत बर्तमान गठबन्धन सरकारले कार्यान्वयन नगर्दा मजदूरहरु समस्यामा परेको बताए ।

एमाले सरकारले नै २०७४ सालमा श्रम ऐन बनाएर मजदूरको रोजगारी, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गरे तापनि कार्यान्वयन हुन नसकेको बताउँदै भने, “अब एमालेलाई जिताउनु पर्छ, एमालेले मात्र ऐन र कानुनमा लेखिएको कुरालाई व्यवहारमा लागू गरेर मजदूरको उत्थान गर्नेछ ।”

उम्मेद्वारको स्वागतमा नकलबन्दा टी–स्टेटका १०० जनाभन्दा बढी मजदूरहरु भेला भएर आफ्ना समस्या राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *