Sajhamanch Archive

डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

कनकाई । आफ्नो बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका लालप्रसाद साँवा लिम्बू (एलपी)को विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेर पछिल्लो समय सांसद बनेपछि डाक्टर बन्ने सपना अधुरै रहेको छ ।

राजनीतिको माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लागेका साँवा विद्यार्थी जीवनमा निक्कै जिज्ञासु थिए । आफू कहिल्यै पनि तेस्रो नभएको बताउने साँवाले २०४२ सालको एसएलसीमा अपेक्षित नतिजा निकाल्न सफल भएपछि उनको आकांक्षा चुलिँदै गएको स्मरण गर्छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापा क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका साँवा यसअघि पनि सोही क्षेत्रमा अत्याधिक मतका साथ निर्वाचित भएका थिए । प्रतिनिधि सभा सदस्यका रुपमा पाँच वर्षसम्म जिम्मेवारी सम्हालेका उजले आफ्नो क्षेत्रको विकास निर्माणमा क्रियाशिल भएर लागेका थिए ।

पाँच दशक अघि पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको दुर्गम पहाडी गाउँमा बाल्यकाल बिताउनेहरुको सपना के नै हुन सक्थ्यो र ? देशको सांसद, मन्त्री वा अन्य उच्च ओहदामा पुगौँला भन्ने चाहना त्यो परिवेश र समयले कल्पना नै नभएको साँवा बताउँछन् ।

त्यसमाथि मध्यम वर्गीय परिवारका बालबालिकाहरुको चाहना र सपना भनेको गाउँमा देखिने विद्यालयका शिक्षक, आक्कल झुक्कल देखिने सरकारी कार्यलयका कर्मचारी र फाट्टफुट्ट देखिने प्रहरीभन्दा माथि हुँदैन थियो । बाल्यकालमा लालप्रसाद साँवाले पनि कुनै ठूलो सपना देखेका थिएनन् । जब एसएलसीमा राम्रो अंक ल्याएर पास गरेपछि मात्र उनलाई डाक्टर बन्ने अभिलाषा पलाएको थियो ।

२०२४ सालमा ताप्लेजुङ्को नाल्बोमा बुद्धिमान साँवा र दिलमायाँ लिम्बूको ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका साँवाको बाल्यकाल पनि गाउँका दौंतरीहरु जस्तै दुर्गम गाउँका औषत बालबालिकाको रुपमा बित्यो । तर त्यसबेला पारिवारिक जिम्मेवारी निर्वाह गर्दै परिवार २०३० सालमा झापाको दूधेमा बसाई सरेर आयो । साँवाले त्यहीँको राष्ट्रिय रमणिय माविबाट अध्ययन सुरु गरेका हुन् ।

यसैले थप अध्ययनका लागि साँवा धरानको हात्तीसार क्याम्पस पुगे । विकट पहाडी जिल्लामा जन्मिएका साँवाले जीवन निर्वाहका लागि कत्तिसम्म दुःख गर्नुपर्छ भन्ने भेउ पाइसकेका थिए । धनी र गरिवबीचको असमानता कै कारण समुदायमा विभेद सिर्जना भएको उनले किशोर अवस्था आउँदासम्म बुझिसकेका थिए । त्यसैले अध्ययनका लागि धरान गए पनि उनको ध्यान समाजलाई प्रगतीशिल दिशातर्फ डोहोर्याउनेमा रह्यो । त्यसैले साँवा पञ्चायतकालमा नै कलेजमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा निर्वाचित भएका थिए ।

सभापति भएर देशका विभिन्न जिल्ला र भूगोलबाट आएका विद्यार्थीहरुको अवस्था बुझ्दा बुझ्दै उनको डाक्टर बन्ने सपना भने ओझेलमा परिसकेको थियो । बुबा लाहुरे भए पनि त्यसबेला ठूलो खर्च गर्ने अवस्था थिएन । त्यसैले बीएससी अध्ययनका लागि साँवा पोको बोकेर काठमाडौ लाग्नुपर्ने बाध्यता आइपर्यो । त्यसपछि भने उनले एसएलसी पास गर्दा देखेको डाक्टर बन्ने सपना भने झन् झन् टाढा पुगिसकेको थियो ।

त्यसबेला बीएससी पढ्नु चानचुने कुरा थिएन । पहाडमा त एसएलसी पास गर्ने बित्तिकै कम्तिमा शिक्षकको जागिरका लागि घरैमा अवसर आइपुग्थ्यो । तर साँवा बीएससी अध्ययनका लागि सपनाको शहर काठमाडौ छिरेका थिए । यातायातको सहज अवस्था नहुनु, सञ्चारको पहुँच कठिन हुनुजस्ता कुराले थप अध्ययनका लागि आफ्ना लागि आफैं स्रोत जुटाउनुभन्दा अर्को विकल्प थिएन । त्यसैले उनले अध्ययनसँगै शिक्षण पेशालाई पनि केही समय बाध्यताको रुपमा उपयोग गरे । तर जव आँफै पढ्दै पढाउँदै गर्नुपर्ने बाध्यता आयो, उनका व्यक्तिगत चाहनाहरुले भने सम्झौतामा पूर्णविराम पाउन थाले ।

जब साँवामा परिपक्वता आउँदै गयो, उनी एमालेको मूलबाटोमा लाग्दै गए । अर्थात राजनीतिको मूल प्रवाहमा अघि बढ्दै गए । एमालेबाट मात्रै समाजको दिगो रुपान्तरण सम्भव छ भनेर उनी निरन्तर रुपमा सक्रिय राजनीतिमा अघि बढ्दै गए । एमाले निकट बुद्धिजीबी संगठन र व्यवसायिक तथा उद्योगीहरूको संगठनमा उनको भूमिका बढ्दै गयो । त्यसैको फलस्वरुप उद्योग तथा व्यवसायिक महासंघको संस्थापक सचिव भएर पनि जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भयो ।

हाल अध्यक्ष भएर निरन्तर सोही संगठनको निर्माण र नेतृत्वमा केन्द्रित रहेका साँवा झापाली जनताको सुख दुःखका सत्ता सारथीका रुपमा रहेका छन् । राजनीतिक रुपमा नेकपा एमालेसँगै समाजको एउटा सच्चा सिपाहीका रुपमा स्थापित साँवा राजनीतिको माध्यमबाट समाज रुपान्तरणमा निरन्तर क्रियाशिल रहँदै आएका छन् ।

निर्वाचनमा विजयी हुँदा होस् वा परिणाम आफू अनुकूुल नुहँदा पनि साँवा निरन्तर रुपमा जनताको सेवामा क्रियाशिल रहँदै आएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा झिनो मत अन्तरले निर्वाचनमा पराजित भए पनि साँवा जनताभन्दा टाढा रहेनन् । निरन्तर रुपमा विकास निर्माण साथै सामाज रुपान्तरणमा क्रियाशिल रहँदै अघि बढेका कारण २०७४ को निर्वाचनमा साँवालाई विजय हाँसिल गर्न कुनै समस्या परेन ।

‘माटोले चिनेको र जनताले रोजेको’ उम्मेद्वारको रुपमा साँवाको सानदार विजय भयो । आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका देउमान थेवेलाई १६ हजारभन्दा बढी मत अन्तरले पछि पार्दै साँवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि जनप्रतिनिधिका रुपमा आफ्नो सम्पूर्ण समय व्यतित गर्दै समाज रुपान्तरणमा निरन्तर क्रियाशिल रहेका साँवा स्थानीय विकास निर्माण होस् वा संसदमा जनताका पक्षमा आवाज उठाउने विषयमा सक्रिय रहँदै आएका छन् ।

आसन्न निर्वाचनका लागि नेकपा एमालेले साँवालाई फेरि संघीय सांसदको उम्मेदवार बनाएको छ । यस अघिदेखि नै झापा क्षेत्र नं. ४ का अधिकांश परिवारसम्म पुगेर समस्या र दुःख सुखमा साथ दिएको प्रतिनिधिका रुपमा साँवाको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।

सुखी नेपाली समृद्ध नेपालको अभियानमा लागेका साँवा झापाको मध्य भागमा रहेको भुगोल, कनकाई नदीको कटान नियन्त्रण, सिमावर्ती क्षेत्रसम्मको सहज सडक सञ्जाल विस्तार, घरबार बिहिनलाई बसोबासको व्यवस्था, स्वरोजगारमुखी कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई, खानेपानीजस्ता योजनामा साँवाको पहलबाट उल्लेखनीय काम भएको स्थानीयवासी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *