Sajhamanch Archive

बिर्तामोडमा प्रतिबन्धित माछा बरामद गरी खाल्डोमा पुरियो

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । यहाँस्थित कृषिथोकबाट बरामद गरिएको माहुर (मुंग्री) हाइब्रेड माछा आज नष्ट गरिएको छ ।

वडा नम्बर ५ मा रहेको कृषिथोक बजारमा रहेको सुन्दर माछा पसलबाट बिक्री गर्दै गरेको अवस्थामा १०० किलो माछा शनिबार साँझ बिर्तामोड नगरप्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल सरकारबाट प्रतिवन्धित, मानव स्वास्थ्यलाई असर पुग्ने उक्त माछा कृषकहरुको सहयोगमा नगरप्रहरीले नियन्त्रणमा लिएको नगरप्रहरी कमान्डर किरण पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आज बिर्ताबजार नजिकै खाल्डो खनेर पुरिएको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, माछा उत्पादक संघका प्रदेश १ उपाध्यक्ष मोहन शिवाकोटी, कृषकहरु लक्ष्मीप्रसाद शिवाकोटी, कपिल न्यौपाने, मोहनसिंह राजवंशी, ज्ञानेन्द्र बिमली लगायत स्थानीयको रोहबरमा माछा नष्ट गरिएको हो ।

नगर उपप्रमुख संग्रौलाले यस प्रकारको प्रतिवन्धित माछा उत्पादन नगर्न कृषकहरुलाई आग्रह गर्दै अवैध र मरेका माछा बिर्तामोड नगरक्षेत्र भित्र बिक्री वितरण गरेको भेटिएमा कानून अनुसार नगरपालिकाले कार्वाही गर्ने चेतावनी दिए ।

बिर्तामोड नगरपालिकाले मरेका माछा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *