सहकारीको अर्ब क्लवमा पुग्ने धौलागिरी पारिजातको लक्ष्य
Published:
by .बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँको कारोबार पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ । कात्तिक २५ गते शुक्रबार बिर्तामोडमा सम्पन्न १५औँ वार्षिक साधारण सभाको अवसरमा यस्तो लक्ष्य सुनाइएको हो ।
बजारमा देखिएको आर्थिक संकटका बीच पनि गत आर्थिक वर्षमा धौलागिरीले ४७ प्रतिशतभन्दा बढीले आफ्नो वित्तीय कारोबार बढाएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा ७८ करोडभन्दा बढीको कारोबार गरिएको र चालू आर्थिक वर्षमा यसलाई एक अर्ब बनाउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले माइन्युट प्रमाणीकरण साधारणसभामा बताए ।
आर्थिक वर्ष २०७७/७८ मा ५३ करोड १९ लाख ७१ हजार ८६८ रुपैयाँ कारोबार गरेको धौलागिरीले गत आवमा ७८ करोड २९ लाख ५८ हजार १०७ रुपैयाँको कारोबार गरेको तथ्याङ्क छ । एक वर्षको अवधिमा २५ करोड ९ लाख ८६ हजार २३९ रुपैयाँको कारोबार रकम बढेको प्रतिवेदनमा जनाइएको छ ।
सो संस्थाले समीक्षा वर्षमा ७२ लाख ८४ हजार ३६५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने संस्थाको जगेडा तथा अन्य कोषमा २ करोड ३२ लाख १५ हजार ९११ रुपैयाँ पुगेको छ ।
२०६४ साल पुष ३ गते ३२ जनाको पहलमा दर्ता गरिएको सो संस्थामा २०७९ असार मसान्तमा ११ हजार ७५८ जना सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । ती सदस्यबाट ५ करोड ७४ लाख ७९ हजार ४०० रुपैया शेयर पुँजी जम्मा भएको छ । चालू आर्थिक वर्षमा ८ करोड ६२ लाख १९ हजार पुर्याउने संस्थाको लक्ष्य छ ।
गत कात्तिक १५ गतेदेखि धौलागिरील ईकाइगत साधारण सभा शुरु गरेर कात्तिक २५ गते माइन्युट प्रमाणीकरणसँगै साधारण सभा सम्पन्न गरेको हो । संस्थाले मिलडाँडा, गोलधाप, सिस्ने, बुधबारे, जयपुर, ज्ञानेचोक, पुहाँतुबारी र लक्ष्मीपुरमा सेवा कार्यालय सञ्चालन गरी सेवा दिइरहेको छ । यस्तै, बिर्तामोड र गोलधापमा सहकारीको आफ्नै भवन छ भने जयपुर र लक्ष्मीपुरमा भवन निर्माणका लागि सहकारीले जग्गा खरिद गरेको छ ।
संस्थाले बचत तथा ऋण, सुपथ मुल्यको सहकारी पसल र कृषि सहकारी पसल सञ्चालन गर्दै आएको अध्यक्ष पौडेलले बताए । संस्थामा हाल ३ करोड २७ लाख २२ हजार ९९२ रुपैँया बराबरको स्थिर सम्पत्ति छ ।
संस्थाका उत्कृष्ट कर्मचारीलाई साधारण सभामा पुरस्कृत पनि गरेको छ । संस्थाले वर्ष उत्कृष्ट ब्यवस्थापकको रुपमा गोलधाप सेवा केन्द्रका ब्यवस्थापक शर्मिला सिग्देललाई नगद १२ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै, उत्कृष्ट बजार प्रतिनिधिको रुपमा बिर्तामोडबाट चन्द्रकला भट्टराई, बिमलाकुमारी अधिकारी, सुनिता राजवंशी र सिस्ने सेवा केन्द्रकी जानुका प्रसाईं भण्डारीलाई जनही ७ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख विवेक डाँगी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
Comments