Sajhamanch Archive

पत्रकार उपचार कोषमा ६४ लाख जम्मा भयो, उपचार खर्च ३० हजार, सुत्केरीलाई २५ हजार र मृतकका परिवारलाई ५० हजार दिइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापा शाखाले एक करोड रुपैयाँको लक्ष्यसहित स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ६४ लाख रुपैयाँ जम्मा भएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्चसमेत उपलब्ध गराउन थालिएको महासंघ झापाले जनाएको छ ।

सहारा नेपाल साकोससहित विभिन्न सहकारी संस्था, विद्यालय, सामाजिक तथा व्यवसायिक संस्थाले कोषमा रकम सहयोग गरेका हुन् । व्यक्तिगत रुपमा समेत पितृको स्मृति, जन्मोत्सव तथा विवाहउत्सव लागायतका सन्दर्भमा दाताहरुले दिएको सहयोगबाट कोषमा उक्त रकम जम्मा भएको हो ।

पत्रकारको उपचार तथा दीगो हितका लागि कोषलाई सहयोग गर्ने सबै दाताहरुप्रति महासंघको हालै बिर्तामोडमा सम्पन्न साधारणसभाले धन्यवाद ज्ञापन गरेको छ । साधारणसभाले कोषलाई एक करोड पुर्याउने लक्ष्य हासिल गर्न सहयोगका निम्ति सबै पक्षलाई अपिल पनि गरेको छ ।

महासंघका सदस्यले समेत उक्त सुविधा लिन न्यूनतम तीन हजार रुपैयाँ शुल्क तिरेर कोषमा आवद्ध हुनुपर्ने व्यवस्था छ । महासंघको अघिल्लो साधारणसभाले पारित गरेको कार्यविधि अनुसार पत्रकारले कोषमा एकपटक आवद्धता शुल्क बुझाएपछि पुनः बुझाउनु पर्दैन ।

यसैबीच, गत कात्तिक २५ गते सम्पन्न साधारणसभाले बिरामी तथा घाइते पत्रकारलाई यसअघि दिइँदै आएको उपचार खर्चमा वृद्धि गरेको छ ।

झापाका बिरामी तथा घाइते पत्रकारलाई ‘क’ ‘ख’ ‘ग’ गरी तीन वर्गमा विभाजिन गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपचार खर्च दिइँदै आएको थियो । उपचार कोष कार्यविधि संशोधन गरी अब ३० हजारसम्म उपचार खर्च दिन निर्णय गरिएको छ ।

त्यस्तै पत्रकार महिला सुत्केरी हुँदा यदि शल्यक्रिया गर्नुपर्ने भएमा २५ हजार रुपैयाँ उपचार खर्च महासंघले कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघले सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्नेसमेत निर्णय गरेको छ । कोषको ब्याजबाट प्राप्त हुने रकमबाट तत्कालका लागि उक्त सहयोग प्रदान गरिने र भविष्यमा कोष वृद्धि हुँदै जाँदा सुविधा रकम पनि बढाउँदै लगिने बताइएको छ ।

महासंघ झापाको सिफारिसमा उपचार खर्चको आधारमा जिल्लाका पत्रकारहरुले महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिलबाट समेत उपचार खर्च पाउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *