‘एमालेले जितेपछि जंगली हात्तीको नियन्त्रण गर्छौं’ : देवराज घिमिरे
Published:
by .बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका वडा नं. ८ मा विगत केही वर्षदेखि सुरु भएको जंगली हात्तीको प्रताडना समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
अहिले वन जंगलको संरक्षण गर्नु र त्यही जंगलमा आश्रय लिने हात्तीबाट स्थानीयलाई सुरक्षित गर्नु एमालेको दायित्व रहेको बताउँदै नेता घिमिरेले एमालेले जितेको खण्डमा यी समस्याको समाधान हुने प्रष्ट पारेका हुन् ।
आज आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा क्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्जसमेत रहेका उम्मेदवार घिमिरेले यस्तो बचन दिएका हुन् । यसअघि एमालेको सरकारले छुट्याएको बजेट पनि आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गर्नेहरु विरुद्व आफू चुनावी मैदानमा उत्रिएको उनको भनाई छ ।
एमालेका उम्मेदवारले विकास निर्माणसँगै स्थानीयवासीको शान्ति सुरक्षाको जिम्मा लिने पनि उनले आश्वासन दिएका छन् । जनताको मन मस्तिस्कमा रहेको पार्टी एमाले मात्रै रहेको बताउँदै घिमिरेले एमालेले गरेका राम्रा काम देखेर रिसाएका पार्टीहरु मिलेर अहिले गठबन्धन गरेको दावी गरे । गठबन्धन सँग कुनै भिजन नभएको र स्वतन्त्र उम्मेदवार भन्नेहरुले पनि भोलिका दिनमा केही गर्न नसक्ने उनको तर्क थियो ।
अहिले को सही र को गलत भनेर जनताले छुट्याउन सक्ने भन्दै एमाले उम्मेदवार घिमिरेले सही उम्मेदवार छानेर भोट हाल्न आग्रह गर्दै ढाँट्न सिपालु व्यक्ति अहिले उम्मेदवार हुँ भन्दै जनता झुक्याइरहेका छन्, त्यस्ताको पछाडी नलाग्न समेत आग्रह गरे ।
नेता घिमिरेले नेकपा एमालेले घोषणा पत्र मार्फत ल्याएका बिकास निर्माणका कामहरु पूर्णरुपमा पालना हुनेसमेत बताएका छन् । एमालेले अब जनताको भोटबाट बहुमत पाउने र पाँच वर्षमा देशले नै मुहार फेर्ने समेत घिमिरेको भनाई छ ।
Comments