Sajhamanch Archive

मौन र मतदान अवधिमा मिडियाको भूमिका विषयक अन्तरसम्वाद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । पर्सि मंसीर ४ गतेका लागि निर्धारित आम चुनावका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यसै विषयमा आज संवाद समूहको ब्यानरमा नेपाल पत्रकार महासंघ झापा शाखाले एक घण्टाको अन्तरसम्वाद सम्पन्न गरेको छ ।

मौन अवधि र मतदान अवधिमा मिडियाको भूमिका विषयक अन्तरसम्वादमा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेल, आचारसंहिता अनुगमन अधिकृत मधु पोखरेल, निर्वाचन कार्यालय प्रमुख तुलसी नेपाल लगायतले आफ्ना धारणा राखेका छन् ।

सम्पन्न अन्तरसम्वादमा निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले निर्वाचन तयारी अवस्थाबारे जानकारी दिए । उनले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतहरुले हिजो साँझसम्ममा मतदान सामग्री बुझेर आ–आफ्नो कतदानस्थल पुगिसकेको बताए ।

झापाका एसपी विश्वमणि पोखरेलले प्रहरी कर्मचारीहरु, म्यादी प्रहरीको संख्याका बारेमा जानकारी गराउँदै निर्वाचनलाई भयरहित बनाउन प्रहरीसँगै नागरिक समाजको महत्वपूर्ण भूमिकाको आवश्यकता औंल्याए ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मधु पोखरेलले धेरैवटा गुनासो र उजुरीहरु प्राप्त भएपनि कोही कसैलाई कारबाहीको तहसम्म जानु नपरेको जिकिर गरे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले छलफलको विषयमाथि प्रष्ट्याएको कार्यक्रमको सहजीकरण पत्रकार अर्जुन राजवंशीले गरेका थिए । छलफलमा पत्रकारहरुको सुझाव समेतलाई मध्यनजर गरी जिल्लामा निर्वाचनमैत्री र मिडियामैत्री वातावरण बनाउन सरोकारवालाले सात बुँदे प्रतिबद्धतासहितको निष्कर्ष जारी गरेका छन् ।

निष्कर्षः
१. निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय, भयरहीत रुपमा सम्पन्न गर्न मौन अवधि र मतदान अवधिमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि मिडिया तथा मिडियाकर्मीले ‘वाच डग’ र सशक्त खबरदारीको कार्य गर्ने ।

२. पत्रकारिताका सिद्धान्त, पेशागत मर्यादा र पत्रकार आचारसंहितालाई आत्मसाथ गरी मौन अवधिको मर्म अनुसारको आचारण गर्न गराउन मिडिया र मिडियाकर्मीले सशक्त भूमिका निर्वाह गर्ने ।

३. निर्वाचनका जिल्लास्थित संयन्त्र र मिडिया–मिडियाकर्मीबीच सहज र छिटो छरितो रुपमा प्रविधिमार्फत सूचना आदानप्रदान गर्ने, निर्वाचनमैत्री र मिडियामैत्री भूमिका निर्वाह गर्ने गराउने ।

४. मतदानका दिन तथा निर्वाचनका प्रक्रियामा प्रेस पास र सवारी साधनको दुरुपयोग हुन नदिने । मिडिया–मिडियाकर्मीको सवारी आवगमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघ झापाले आवश्यक सहजीकरण गर्ने । पत्रकार महासंघका सदस्यहरुले महासंघको परिचयपत्र बोक्ने, महासंघका सदस्य नभएकाहरुले पत्रकार भएको विवरण खुल्ने महासंघद्वारा प्रमाणित पत्र बोक्ने ।

५. मिडियाकर्मीले तोकिएको अद्यावधिक परिचयपत्र र सवारी साधनका अद्यावधिक भएका कागजपत्र साथमा लिएर हिंड्ने, परिचयपत्र स्पष्ट देखिने गरी गलामा लगाउने ।

६. गोप्य मतदान र निर्वाचन प्रक्रियामा बाधा नपर्ने गरी परिचयपत्र वाहक मिडियाकर्मीले समाचार रिपोर्टिङका लागि मात्र मिडिया यन्त्र (क्यामेरा, मोवाइल, रेडर्कर आदि) प्रयोग गर्ने । बुथ घेरिएको भित्री घेराभन्दा बाहिरबाट मात्र समाचार रिपोर्टिङ गर्ने ।

७. कुनै असहज परिस्थिति आए, समस्या उत्पन्न भए आपसी समन्वयमा समाधान गर्ने ।

सो अन्तरसम्वादमा प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतले के के भने ? यो भिडियोमा सबै विवरण समावेश छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *