मल आयात ठेक्का स्वीस सिंगापुरलाई
Published:
by .काठमाडौं । मकै र चैते धान सिजनका लागि ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न ठेक्का लागेको छ । गत महिना आह्वान गरिएको सार्वजनिक बोलपत्रमा सिंगापुरको कम्पनी स्वीस सिंगापुर छनोट भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पानीसँग ठेक्का सम्झौता भने हुन बाँकी छ ।
कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीकाअनुसार ठेक्का सम्झौता पछि ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल आयातको सुनिश्चितता हुनेछ । ‘५० हजार मेट्रिकटन मल खरिदका लागि ठेक्का लाग्ने निश्चित भएको छ’ कार्कीले भने, ‘मल खरिदको कुल लागत ५ अर्ब हाराहारी छ । मूल्यांकन रकम भन्दा सस्तोमा ठेक्का लागेको हो ।’
प्रबन्ध सञ्चालक कार्कीका अनुसार डीएपी मलको लागत मूल्यांकन ९३३ डलर प्रति मेट्रिकटन रहेकोमा ८७८ डलर ४४ सेन्टमा स्वीस सिंगापुरले ठेक्का हालेको थियो । यस्तै प्रतिमेट्रिक टन ४४७ डलर मूल्यांकन रहेको युरिया खरिदमा स्वीस सिंगापुरले ४४० डलरमा सबैभन्दा कम प्रस्ताव गरेको थियो ।
कम्पनीसँग अबको केही दिनमा ठेक्का सम्झौता गर्ने तयारी कृषि सामग्रीले गरेको छ । कम्पनीसँग अहिले ३० हजार मेट्रिक टन युरिया, २२ हजार मोट्रिक टन डीएपी र ३८ सय मेट्रिकटन पोटास मौज्दात रहेको प्रबन्ध सञ्चालक कार्कीले बताए ।
भारतसँगको जीटूजीको रासायनिक मल पनि अर्को साताबाट नेपाल भित्रिन सुरु गर्ने कम्पनीले जनाएको छ ।
अनलाइनखबर
Comments