Sajhamanch Archive

शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एक दिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जीत हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा गत सोमबार सम्पन्न शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार भएको दोस्रो खेल ३ विकेटले दिएको थियो ।

घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो । यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनी विरुद्धको पहिलो घरेलु एक दिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो ।

शुक्रबार त्रिवि मैदानमा सम्पन्न तेस्रो तथा निर्णायक एक दिवशीय अन्तर्राष्ट्रिय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गरे ।

अर्का ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो । त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए ।

३३ दशमलव १ ओभरमा आयन खानको बलमा एलबीडब्यू आउट हुनुअघि ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पाँचौं अर्धशतक हो ।

१ अगष्ट २०१८ मा नेपालले खेलेको पहिलो एक दिवशीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्स विरुद्ध अर्धशतक बनाएका ज्ञानेन्द्रले एक दिवशीय अन्तर्राष्ट्रिय करिअरमा २२ इनिङ्स खेलेर ५ अर्धशतकसहित ५७० रन बनाएका छन् ।

एक दिवशीय अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका आशिफ ८८ रनमा अविजित रहे । उनले ११९ बलमा १२ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीसँगको खेलमा एक दिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका आसिफले चार महिनाअघि आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्ड विरुद्ध ७१ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले चार खेलपछि अर्धशतक बनाएका हुन् ।

युएईले आठजना बलर प्रयोग गरेको थियो । आयान खान र हजरत विलालले १–१ विकेट लिएका थिए ।

यसअघि आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

खराब सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१ दशमलव १ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई १०० रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पुर्याएका थिए ।

आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

अन्तिम विकेटका लागि यो साझेदारी इतिहासकै चौथो सर्वाधिक साझेदारी हो । सन् १९८४ मा भिभियन रिचर्ड र माइकलले वेष्ट इण्डिजका लागि इंग्ल्याण्ड विरुद्ध अन्तिम विकेटमा १०६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीले १–१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *