आम चुनाव २०७९ खबर संगालो
Published: (Updated: )
by .पाँचथरमा ११५ वर्षकी मनरानीले गरिन् मतदान
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ निवासी ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी छन् ।
उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्म मिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
रामेछापमा भोट खसालेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु
रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं. ४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्र्षीय वृद्धको मृत्यु भएको छ । मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने बित्तिकै उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिए ।
देशभरका १५ केन्द्रमा मतदान स्थगित
आज भइरहेको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले सूचनामार्फत जानकारी दिएको छ ।
राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।
मतदान गर्न हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु
मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँडेका खत्याड गाउँपालिका ३ का ७५ वर्षीय जोख्या दमाईको लडेर मृत्यु भएको छ ।
मतदान गर्न खत्याड गाउँपालिका जाँदै गरेका उनको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको उनीसँगै हिँडेका साथी कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले बताए ।
शाहीका अनुसार मृतक जोख्या दमाइको भीरबाट लडेर मृत्यु भएको हो । उनी दृष्टिविहीन कल्से नेपालीको सारथीका रुपमा विगत १० वर्षदेखि का मगर्दै आएका थिए ।
दृष्टिविहीन कल्से नेपाली भने सकुशल रहेका छन् । कल्से नेपाली मुगुका दृष्टिविहीन देउडा खेलाडी हुन् । कल्सेलाई हरेक स्थानमा जोख्या दमाईले सारथी बनेर लैजाने गरेका थिए ।
बाजुराको त्रिवेणीमा गोली चल्दा एकको मृत्यु, तीन घाइते
बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको छ ।
मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । घटनास्थलमा रहेका पत्रकार पारश विक्रम शाहले अएडीको मृत्यु भएको र घटनास्थलमा प्रहरीले हवाइ फायर गरेको जानकारी दिएका छन् ।
यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीनजना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया, खडक अएडी लगायत छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
एकजना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ।
Comments